बिर्तामोड / बुद्ध एयरको आजबाट हुने भनिएको भद्रपुर–पोखरा उडान स्थगित भएको छ।
कम्पनीका बिक्री तथा बजार निर्देशक रूपेश जोशीका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आएकाओ) को अडिट सुरु भएका कारण उडान स्थगित गरिएको हो ।
अब दुई साताका पछि देखि मात्र उडान सुरु गर्ने निर्देशक जोशीले बताए । उनले भने, –‘जहाज पूर्ण रुपमा तयार भइसकेको छ। अहिले आइकाओको अडिटको समय भएका कारण दुई सातापछि देखि मात्र उडान सुरु गर्ने योजना बनाएका छौँ।’
रुटका लागि बुद्ध एयरले एकतर्फी सुरुवाती भाडादर ६ हजार ९ सय रुपैयाँ कायम गरेको जनाएको छ । पोखराबाट भद्रपुर दिउँसो १ः २५ बजे र भद्रपुरबाट पोखरा दिउँसो ३ बजे उडान हुने बुद्ध एयरले जनाएको छ ।
कम्पनीको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडे प्याकेज तयार गरिसकेको छ। भद्रपुर–पोखरा प्याकेजका लागि तयार गरिएको १५ हजार रुपैयाँ अन्तर्गत पर्यटकले दुई रात तीन दिनको प्याकेज लिन सक्नेछन्।
यसअन्तर्गत दुईतर्फी हवाई टिकट, पोखरा एयरपोर्टबाट होटल तथा होटलबाट पोखरा एयरपोर्ट गाडी सुविधा, वातानुकूलित ट्विन सेयरिङ रुम र बिहानको ब्रेकफास्ट समावेश गरिएको कम्पनीले जनाएको छ।
एयरले काठमाडौं बाहेक पोखरालाई देशको विभिन्न प्रदेशहरूसँग सिधा उडानले जोडेको छ । यसअघि नै भैरहवा, भरतपुर (चितवन), नेपालगञ्ज, सिमरा, धनगढी र जनकपुरबाट पोखरा सिधा उडान विस्तार गरिसकेको छ ।
बुद्ध एयरसँग ७२ सिटे एटीआर–७२ जहाज ११ वटा, ४२ सिटे एटीआर–४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाज छन् ।