बिर्तामोड / गत चैत ६ गते मोरङको लेटाङमा भएको हिंसात्मक झडपमा परी ज्यान गुमाएकी प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको गोली लागेर मृत्यु भएको खुलेको छ ।
श्रेष्ठको धारिलो हतियारको प्रहारबाट मृत्यु बताइए पनि विराटनगरस्थित कोशी अस्पतालले दिएको पोस्टमार्टम रिपोर्ट अनुसार उनको गोली लागेर मृत्यु भएको पुष्टि भएको हो ।
रिपोर्टमा ‘सक प्रिजेन्ट बाई फायरआर्म इन्जुरी’ भनी उल्लेख गरिएको छ । प्रहरीले गरेको लामो अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा श्रेष्ठको शरीरबाट गोली निकालिएको उल्लेख गरिएको छ ।
प्रहरीले त्यसदिन तीन वटा हतियारबाट हवाई फायर गरेको उल्लेख गरेको थियो । श्रेष्ठमाथि लागेको गोली नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला परीक्षण गर्दा त्यो प्रहरीको हतियारबाट निस्केको गोलीसँग मेल नखाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) शान्तिराज कोइरालाले जानकारी दिए ।
एसपी कोइरालाका अनुसार अनुसन्धानका क्रममा गोली प्रहार गर्नेको पहिचान नभएपछि आरोपीहरूलाई कर्तव्य ज्यान मुद्दामा अदालतको जिम्मा लगाइएको छ ।
लेटाङ –५ खेरुवास्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले कक्षा ६ मा पढ्ने एक छात्रालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएपछि विद्यालयमा बैठक भएको थियो ।
शिक्षकहरूले पौडेललाई प्रहरी बोलाएर बुझाउन लाग्दा प्रदर्शनकारीको भीड विद्यालय परिसरमा पसेर तोडफोडसँगै हिंसात्मक प्रदर्शनमा उत्रियो । स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि भीडले आक्रमण गर्दा श्रेष्ठको घटनास्थलमा मृत्यु भएको थियो ।
घटनामा संलग्न भएको आरोपमा हालसम्म प्रहरीले ६३ जना पक्राउ गरेको छ। जसमध्ये १६ जना बालबालिका छन् ।
१५ जना बालकलाई अभद्र व्यवहार, उमेर पुगेका सवालक १४ जनालाई कर्तव्य ज्यान, ३२ जनालाई अभद्र व्यवहारको मुद्दा चलाउने तयारी रहेको बताइएको छ । एक जना बालकलाई जिल्ला अदालतले परिवारको जिम्मा लगाउने आदेश दिएको छ।