झापा / काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा आज फागु पूर्णिमा अर्थात होली पर्व मनाइँदै छ ।  

हरेक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाउने गरिन्छ । आजको दिन विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लास साथ मनाउने गरिन्छ ।

OM Sai Pathibhara Hospital

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइन्छ । 

यद्यपि केही वर्ष यता यो पर्व सभ्य बन्न थालेको छ । प्रहरीको सक्रियताका कारण पछिल्लो समय फागु पर्व सभ्य बन्दै गएको हो । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरित रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ।

विगत वर्ष जस्तै यस वर्ष पनि कोभिड जोखिम कायमै रहेकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ । घर परिवारमै फागु पूर्णिमा मनाउन प्रशासनले अनुरोध समेत गरेको छ ।

फागुको अवसरमा आज काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चिरलाई विधिपूर्वक ढाली बाजागाजा साथ टुँडिखेलमा लगी जलाउँछन् । 

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ।

आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भस्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ। त्यसैबेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ।

द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख छ ।

फागु पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिने गरेको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । यस वर्ष तराईमा शुक्रबार होली मनाइँदै छ ।