बिर्तामोड / केही समयअगाडि मात्र गुगलले एन्ड्रोइड १२ सार्वजनिक गरेको भएपनि  कम्पनीले एन्ड्रोइड १३ पनि छिट्टै नै सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यसैबीच आउँदै गरेको एन्ड्रोइड १३ मा कस्ता कस्ता फिचर उपलब्ध हुनेछ भन्ने बारेमा विभिन्न विवरणहरू सार्वजनिक भइरहेका छन् । 


कोडनेम
गुगलले आफ्ना हरेक एन्ड्रोइड भर्सनहरूलाई एउटा कोडनेम दिने गर्छ । जस्तो कि एन्ड्रोइड ४.४ भर्सनको कोडनेम थियो ‘किटक्याट’ अथवा एन्ड्रोइड ९ भर्सनको कोडनेम थियो ‘पाई’, एन्ड्रोइड १२ को स्नो कोन, एन्ड्रोइड ११ को रेड भेलभेट केक । यद्यपि यी नामहरू बाहिर प्रयोगकर्ताका लागि अथवा बजारमा ओएसको बजारीकरणका लागि प्रयोग हुने नाम भने होइनन् । यी नाम डेभलपरहरूको प्रयोगको लागि मात्र हो ।

OM Sai Pathibhara Hospital

यो पटक एन्ड्रोइड १३ को नाम भने ‘टिरामिसु’ हुने बताइएको छ । टिरामिसु एक प्रकारको केक जस्तै डिजर्ट हो । 

ट्याप टु ट्रान्सफर
फाइलहरू सहज रुपमा एउटा डिभाइसबाट अर्को डिभाइसमा सार्न एन्ड्रोइडमा समय-समयमा विभिन्न फिचर थपघट हुने गरेका छन् । यो पटक भने एन्ड्रोइड १३ मा ‘ट्याप टु ट्रान्सफर’ भन्ने फिचर आउँदैछ, जसले एक ट्यापको भरमा मिडिया फाइल जस्तै गीतहरू अर्को डिभाइस (ब्लुटुथ स्पिकर) मा शेयर गर्ने र प्ले गर्न सहज बनाउनेछ ।

यसका लागि तपाईंले आफ्नो मोबाइल अर्को डिभाइसको नजिक मात्र लगे पुग्नेछ । 

मटेरियल युमा कलर अप्सन
एन्ड्रोइड १३ मा तपाईंको फोनको लागि थप कलर अप्सनहरू हुनेछन् । तपाईंको वालपेपरको आधारमा परिवर्तन हुने तपाईंको फोनको कलरमा थप तीन अप्सनहरू थपिँदैछन् । बाहिरिएको जानकारी अनुसार भाइब्रेन्ट, एक्सप्रेसिभस्प्रिट्ज नामक तीन विभिन्न रंग थप हुनेछन्, जसले तपाईंको फोनको रंगलाई थप रोचक बनाउनेछ । 

अप्ट-इन नोटिफिकेशन
विगतका दिनदेखि आजसम्म हेर्ने हो भने आईओएसको तुलनामा एन्ड्रोइडको नोटिफिकेशन व्यवस्थापन सधैं उत्कृष्ट पाइन्छ । गुगलले यही इतिहासलाई निरन्तरता दिँदै एन्ड्रोइड १३ मा नोटिफिकेशनको नयाँ फिचर थप गर्न लागेको छ ।

यस अन्तर्गत प्रयोगकर्ताले फोनमा नयाँ एप डाउनोलड गर्दा सो एपले तपाईंलाई नोटिफिकेशन पठाउने अथवा नपठाउने भन्ने लगायतका एपका नोटिफिकेशनहरू प्रयोगकर्ताले पहिले नै व्यवस्थापन गर्न सक्नेछन् । 

क्यूआर कोड स्क्यानर
प्रविधिले हाम्रो जीवन जति सहज बनाएको छ, हामी त्यति नै थप सहजता खोजिरहेका हुन्छौं । पछिल्लो समयमा क्यूआर कोडको अभ्यासले हाम्रो जीवन निकै सहज बनाएको छ ।

एन्ड्रोइडमा उपलब्ध क्यूआर कोड स्क्यान फिचरलाई कम्पनीले यो पटक थप परिष्कृत गर्न लागेको छ । क्यामेरा क्यूआर कोड आफै डिटेक्ट गर्ने फिचर बाहेक अन्य कुरा पनि थप हुने अनुमान गरिएको छ, जसमा फोनमा क्यूआर कोड स्क्यानिङको छुट्टै टाइल उपलब्ध हुनेछ । 

‘प्यानलिंगुअल’ फिचर

प्यानलिंगुल फिचरको अर्थ हो, प्रयोगकर्ताले अब आफ्नो मोबाइलमा उपलब्ध भाषाहरूको आधारमा फरक(फरक भाषा प्रयोग गर्न सक्नेछन् । तपाईंले क्यामेराको नाम अंग्रेजीमा राख्नु भएको छ भने फेसबुकको नाम हिन्दीरनेपाली अथवा अन्य कुनै भाषामा राख्न सक्नुहुन्छ । यसले प्रयोगकर्तालाई आफ्नो भाषाअनुसार मोबाइल प्रयोग गर्न सहज हुने विश्वास छ ।