• भुवन तामाङ 

एउटा यस्तो पढौँ पढौँ लाग्ने पुस्तक । 

रचना वा सिर्जनाको खडेरीबीच पुस्तक भर्खरै प्रकाशित भएको । यो पुस्तक हो लेखक तथा पत्रकार तीर्थ सिग्देलको नयाँ कृति ‘मनको कैदी’ । 

OM Sai Pathibhara Hospital


यस भित्र मनको कैदी, दुरी, नजरको दोष, धन्यवाद जमाना, उन्मुक्ति, नभएको मुटु, सुनैना, उर्लदो समुद्र र भावना—१, उर्लदो समुद्र र भावना—२, उर्लदो समुद्र र भावना—३, मौनता, ऊ त्यस्ती थिइन र अमूर्त सपना शीर्षकका १३ वटा सिर्जना समेटिएका छन् । जसलाई कथाहरु भन्न सकिन्छ । 

पुस्तकमा न लेखकले आफ्नो भनाई लेखेका छन् न त कसैलाई भूमिका या विचार लेखाइएको छ । तसर्थ पुस्तकभित्रका कथाहरु कस्ता होलान् भन्ने खुल्दुली मेट्न सिधै रचना अर्थात कथाहरु पढ्नुपर्ने हुन्छ । पाठकले अगाडि नै कथाहरु कस्ता छन् त भनेर केही भेउ पाउँदैनन् । यो तरिकाले अर्कै किसिमको खुल्दुली जगाइदिन्छ र सिधै सिर्जना पढ्नु पर्दाको एउटा छुट्टै स्वाद दिन्छ । 

मानिसले जीवन बिताउने क्रममा उसले धेरै कुराहरुको सामना गर्नुपर्दछ । धेरै विषयहरुबाट गुज्रनु पर्दछ । मानिसले समयसँगै विश्वास र अन्धविश्वासको पनि सहारा लिनु पर्दछ । धेरै खाले विचार, सोचाइ पछि निक्र्योलमा पुग्नु पर्दछ । कति कुरा अपनाउनु र कति कुरा त्याग्नु पनि पर्दछ । कतिले सजिलो जीवनलाई जानेर या नजानेर अप्ठेरामा पार्दछन् त कतिपयले अप्ठेरो जीवनलाई पनि सजिलो पारि हाँसीहाँसी जिउँदछन् । 

book manko kaidi

त्यतिबेला मानिसहरुको मनमा अनेकौ खालका भार पनि पर्न सक्छ । जिन्दगीका तिता मीठा अनुभवबीच मानिसको मन विभिन्न चरणबाट गुज्रिन्छ । कतिपय मन टुट्दछन् र कतिपय मन जस्तै कष्टलाई पनि जित्न सक्षम हुन्छन् । मन नै मानिसका मार्गदर्शक हो । अथवा, मानिस नै मनको चालक हो भने मानिसका जीवन भोगाई माझ मनमा पर्ने असर, मनले बनाउने योजना, सोच र निर्णय नै यस पुस्तकको विशेषता हो । 

कृति कै नाम ‘मनको कैदी’ शीर्षकको पहिलो कथामा लेखिएका केही अनुच्छेदहरु नियाल्दै कृतिभित्र सयर गरौँ ‘तिमीलाई थाहा छ ? मनको मैला जबसम्म स्वच्छ र निर्मल पार्न सकिँदैन, तबसम्म अन्तरकुन्तरमा रहेको विषयले मनमा ठाउँ ओगट्छ । त्यतिबेला आफ्ना दुःख र वेदना अरुलाई सुनाएर मनको व्यथा हलुका गरिन्छ । अहिले म त्यही कर्ममा छु ।’ 

‘केवल तिम्रा यादहरु सजाएर बसेको छु । मनलाई आँखा र कानको सिमित परिधिभित्र समेटेर । मनलाई कैदीजस्तो बनाएर । म यसै निसास्सिएको छु, उसै भासिएको छु, एउटा दलदलमा ।’ 

‘तिमीलाई कुन शब्दले बोलाऊँ ? कुन मनले अपनाउँ ?’ ‘म त्यही मनको चक्रव्यूहमा फँसेको छु । भयानक आँधी तुफान र भुमरीमा परेको छु । माकुराको जालमा जेलिएको छु । मनको कैदी बनेर ।’ ‘मान्छे आखिर मनको कैदी त रहेछ ।’ 

पहिलो कथाको यी अन्तिम अनुच्छेदहरुले नै उजागर गर्छन् यस सिर्जना र कृतिका विशेषताहरु । 

बंगलादेशको कक्स बजारमा किनिन्छन् कोशेलीहरु उनका लागि । जसका बारेमा उनले सोधेकी पनि छन्, ‘खोइत ती चिजहरु जुन मेरा लागि किनेका छौ भन्थ्यौ त ?’ भनेर । यस्तै मीठा सम्वाद र लेखनीहरुले भरिएको यस कृतिको पहिलो कोशेली निकै मन छुने छ । जसमा मनबारे धेरै मन्थन गरिएका छन् । 

‘दूरी’ शिर्षकको दोस्रो कथा कोरोना भाइरसको कहर र भौतिक दूरीको प्रसंगसँग सम्बन्धित छ । कोरोना कहरले गर्दा सेट भएको भौतिक दूरी कायम गर्नुपर्ने नियमबारे त सबैलाई धेरथोर थाहा भइ नै सक्यो तर भौतिक दूरी भनेको अरु कुरा पनि रहेछन् । 

कथाकार सिग्देलले भौतिक दूरीका बारे यसरी अथ्र्याएका छन् जो निकै घत् लाग्दा छन् । 

‘एकले अर्कालाई इज्जत, आदर र सम्मान गर्नु पनि एक प्रकारको दूरी कायम गर्नु नै हो । जस्तो सासु बुहारी बीचको दूरी, जेठाजु बुहारी बीचको दूरी, मान्छे र मान्छे बीचमा, मान्छे र गैरमान्छेका बीचमा यस्ता अरु धेरै दूरीहरु हुन्छन्, जसलाई स्वीकार्नु नै पर्ने बाध्यता छ हाम्रा सामु । कार्यालयमा पनि हाकिम र कर्मचारीबीच दूरी हुन्छ । समाजमा पनि धनी र गरिबका बीचमा त्यस्तै दूरी हुन्छ । आजसम्म कसैले पनि समाजमा मनमा लागेका कुनै काम र कुरा गर्न पाएका छन् र ? पक्कै छैन । हो, त्यही नै सामाजिक दूरी हो ।’ 

यतिमात्र होइन यस कथामा अरु धेरै घत्लाग्दा विचारहरु छन् । जसले पाठकमा गहिरो सन्देश प्रवाह गर्दछ । 

‘नजरको दोष’ शीर्षकको तेस्रो कथामा मानिसको मनबारे लेखिएको छ । कथाको एक अनुच्छेदको अंश यस्तो छ ।

‘आज लाग्छ, हरेक मान्छेको मनभित्र एउटा पर्दा हुन्छ । बस्, त्यो पर्दाले ढाकिएको जिन्दगी चिन्नमात्र सक्नु पर्ने रहेछ । बाहिरबाट हेर्दा देखिने मात्र जीवन होइन रहेछ । त्यस पर्दारुपी जीवन पछाडि नदेखिने गरि लुकेर रहेको बस्तुको पहिचान गर्न पनि सक्नु पर्ने रहेछ ।’ 

यसबाट पनि अनुमान लगाउन सकिन्छ कि यो कथा कति मनछुने छ । यसमा कथाकार सिग्देलले मानिसका मनबारे सिपालु लेखन शैलीबाट गहिरोसँग पर्गेलेका छन् । 

‘धन्यवाद जमाना’ शीर्षकको चौथो कथामा अहिलेको आधुनिक जमाना ठीक भएको तर्क छ । एक पात्रको जिन्दगी भोगाई, विचार, भनाई र निष्कर्ष हो यो । 

पात्रले पहिलेको जमाना भोगेर आए त्यै भएर अहिलेको जमानासँग तुलना गर्न सके । पहिलापहिला अग्र्यानिक खानेकुराहरु खान्थे मानिसहरु । त्यसैले बलिया भए तर त्यस बखत अरु धेरै दुःख र बुहार्तन पनि थिए । अहिले धेरै सुविधा छ । प्रबिधि र सुविधाले संसार साँगुरो अर्थात नजिक भएको छ । यस कथामा आजका मानिसहरु खुल्लापन मन पराउँछन् भन्ने सन्देश पनि दिइएको छ । 

पहिलेका जमानामा जस्ता धेरै सामाजिक अडचन अहिले छैन । अहिलेको जमाना मानिसहरुले चाहेजस्तो सजिलो भएको विचार पोखिएका छन् यस कथामा । 

‘उन्मुक्ति’ शीर्षकको पाँचौ कथा केही लामो छ । यो कथाको दुई अनुच्छेद । 

‘सफल र वास्तविक जीवन बाँच्नका लागि मानिसको मनमा शान्ति चाहिन्छ, उन्मुक्ति होइन । अधिक स्वतन्त्रता पनि घातक बन्छ । जसरी नाङ्गो हुनु स्वतन्त्रता होइन । पारदर्शिता पनि कहिलेकाँही बाधक बन्छ ।’ 

‘त्यही भएर म आज यस्ती भएँ । ममा उसप्रतिको घृणा उम्लिएको छ । बदलाभाव प्रकट भएको छ । भलै उसले आज मलाई उन्मुक्ति त दियो । तर, के एकपटक रङ्गिएको सिउँदो फेरि सजिएला ? के एकपटक पोखिएको प्रेमभाव फेरि पलाउला ? के अर्को पटक कसैले मलाई स्वीकार गर्ला ? उसले विरक्तभाव प्रकट गरी ।’ 

‘नभएको मुटु’ शीर्षकको छैठौँ कथामा मुटु र मन के हो ? यसबारे वर्णन गरेका छन् लेखक सिग्देलले । 

मुटु हुनु र नहुनु के हो ? यी बारे उपन्यास लेखन शैलीमा वर्णन, व्याख्या गरिएको छ । मानिसहरु एकले अर्काको कुरा कसरी बुझ्दछन् ? भाषाले ? शारीरिक हाउभाउले ? आँखाको चालले ? या मनले ? यी बारेपनि बडो रोचक ढंगले कथा लेखिएका छन् । पात्रहरुको सम्वादभित्रको मीठास, तर्क र निचोड पनि निकै मन छुने खालका छन् । 

‘सुनैना’ शीर्षकको सातौँ कथामा सुनैना नामको पात्रको कथा छ । यस कथामा विहे नगरेकी सानै उमेरकी केटीले बच्चा जन्माएकीपछिको दुःखको कहानी छ । 

बच्चाकी आमा हुन् सुनैना । अन्धविश्वास रुढीले ग्रष्त छ समाज । निर्दयी सामाजिक मूल्य मान्यता भएको समुदाय भित्रकी सुनैनाले बिना लोग्ने बच्चा जन्माएपछि निश्चय पनि दुःख पाउने नै भइ हालिन् । सुनैनाले कारणवश बच्चा जन्माइन् तर त्यो बच्चा उनका लागि सामाजिक मान्यताका कारण कहर बन्यो । तब सुनैना र बच्चाको हालत के भयो होला ? यही मार्मिक कथा छ सुनैना कथामा । 

यो केवल कथामात्र होइन लेखकको लेखन कला, वर्णन शैली पनि कम मार्मिक छैनन् । 

‘सुनैना आफ्नो नामको अपभ्रंशझैँ थिइन्, जो आपैmँमा एउटी निरीह पात्रझैँ बनिरहेकी थिइन् । सुनैना अर्थात् सुन्दर आँखा ।’

‘उर्लंदो समुद्र र भावना—१’ शीर्षकको आठौँ कथामा बाँच्नु मात्र जीवन होइन मृत्युमा पनि जीवन हुन्छ भन्ने सन्देश दिन खोजिएको छ । 

यस कथा यो सन्देशमा मात्र सीमित छैन । कथाले जीवनका धेरै पाटाहरुबारे भन्न खोजेको छ । शीर्षकमा समुद्र र भावना शब्दहरु छन् । यी दुईशब्दहरुको तालमेल या सम्बन्ध या परिणाम के हुन सक्छन् ? भन्ने खुल्दुली कथाले बडो रोचक किसिमले मेटाइदिन्छ । मान्छेको मन, जीवन, जिन्दगी र मृत्य अनि मृत्यु उप्रान्तबारे यो कथाले कथात्मक किसिमले सलल बान्कीका शब्दहरुद्वारा बताउँछ ।

‘उर्लंदो समुद्र र भावना—२’ शीर्षकको नवौँ कथामा एक नारी पात्र मानिस मरेपछि के हुन्छ ? भन्ने खोजमा रहेकी छन् । खोजका लागि घोत्लिन, मन्थन गर्न र हुनसक्छ निष्कर्षमै पुग्न मनमनै विमर्श गर्न समुद्र किनारतिर टहलिन्छिन् । समुद्रका उर्लंदो छाल, समुद्रका विचित्रका व्यबहारले ती नारी पात्रका मनमा विभिन्न भावना सिर्जना गरिदिन्छन् । 

समुद्रको किनार फगत एक किनार मात्र होइन । यसले मानिसहरुलाई धेरै धेरै कुरा भौतिक र भावनात्मक रुपमा दिन्छन् । तिनै कुराको आकर्षणले यस कथाको नारी पात्र त्यहाँ जाने गर्छिन् आफ्नो खोज अनुसन्धानबारे सोच्दछिन् । उनले आफ्नो खोजको नाम ‘मृत्यु शास्त्र’ दिएकी छन् । 

यो कथा केही लामो छ, त्यही लामोपनमा जीवन र मृत्य पश्चात हुने धेरै धेरै कुराबारे तर्क गरिएका छन् । जसले पाठवर्गको मनमा एक उद्वेग पैदा गरिदिन्छ । कति कुरा पत्याउने र कति नपत्याने ? बनाइदिन्छ ।

‘उर्लंदो समुद्र र सपना—३’ शीर्षकको दशौँ कथा निकै मीठासपूर्ण लाग्दछ । यो सम्वादले नै यो कथा पढ्नुको मजा थाहा लाग्दछ । 

उसले भेट्ने वित्तिकै भनी, ‘म मरेपछि मेरो मुटु नजलाउनु । जहाँ तिम्रा मिठा नमिठा यादहरु सजिएर बसेका छन् ।’

यो एक सम्वाद भएपनि साहित्यमा हुनुपर्ने खास मीठास छ यसमा । यस्तो सम्वाद सायदै पढ्न पाइन्छ । यो सम्वाद निर्माणबाट पनि अनुमान लगाउन सकिन्छ कि स्रष्टा तीर्थ सिग्देल मीठास र रहस्यले भरिएका साहित्य लेख्न कति सिपालु छन् । 

यस कथामा मानिसहरु मरेर पनि जिउँदै हुन्छन् तर कसरी ? भन्ने रहस्यबारे पढ्न पाइन्छ । यस कथाले जोड दिएर यो सन्देश दिन खोजेको छ कि, विज्ञानले सबै काम गरिसकेपनि दुईटा काम भने गर्न बाँकी छ, ती हुन्, एक मृत्यु विज्ञान र अर्को हो मनशास्त्र ।

‘मौनता’ शीर्षकको एघारौँ कथाको कुनै अनुच्छेदमा यस्तो लेखिएको छ । 

‘तिमी त एउटी नारी हौ । नारी हुनुको खास पीडा तिमीलाई थाहै होला । पुरुषप्रति कतिपय महिलाहरुको रिजर्वेसन छ । खास गरेर फेमिनिष्टहरुको । फेमिनिष्टहरु भनेका महिलावादी । तिमी पनि महिला नै हौ । तर, खोइ ? आज ती फेमिनिष्टहरु । तिम्रो बोलीमा लगाम लाग्दा किन बोल्दैनन् ?’

यो कथाको खास सन्देश यही हो तर पुरा कथा पढ्नुको स्वाद अर्कै हुन्छ । 

‘ऊ त्यस्ती थिइन्’ शीर्षकको बाह्रौँ कथाको कुनै अनुच्छेदमा यस्तो लेखिएको छ । 

‘महिला र पुरुषबीचको सम्बन्ध पनि गज्जबकै हुँदो रहेछ । मन मिले आजीवन सँगै, नमिले एकैक्षणमा अलग हुने । अस्तो अचम्म, को कसका लागि र को कसप्रति समर्पित भन्ने हुँदो रहेछ । एकले अर्कालाई नबुझ्नु र नस्वीकार्नु नै समस्या रहेछ ।’ 

कथाको सार पनि यही हो । प्रवेश र सारा नामका पात्रहरु एक दम्पति हुन् र साराले सम्बन्ध तोडेको कथा हो यो । साराले के बुझिनन् ? के पाइनन् ? र अर्कोबाट के पाउँछिन् त ? प्रवेशले सारालाई जीवनभर आफ्नी बनाइराख्ने कुरामा कहाँ चुक्यो त ? उनीहरुको कथा अरु धेरैधेरैको जिन्दगीसँग मेल खालान् या नखालान् पनि । 

‘अमूर्त सपना’ शीर्षकको तेह्रौँ तथा अन्तिम कथा मानिसले देख्ने सपनाकाबारेमा लेखिएको छ । 

छोटै कथा भएपनि सपनाको विहङ्गम विमर्श गरिएको छ । सपना के हो ? यसको परिणाम के हो ? र यसले मानिसहरुलाई कसरी गाइड गर्छ या भ्रममा भुल्याउँछ ? भन्ने कुरा जान्न सकिन्छ यस कथा पढेर । एक नारी पात्रले देखेको सपनाबारे लेखिएको छ यस कथामा । निद्रामा परेका बेला देखिने सपना र बिपनामा देखिने जीवनको लक्ष्यबारेको सपनाबारे जान्न सकिन्छ यस कथाबाट ।

यी पङ्तीहरु सिङ्गो कृति चिहाउने आँखी झ्यालको एउटा प्वाल मात्र हुन् । मनोविज्ञानमा आधारित छ यो कृति अनि स्रष्टा सिग्देलको यस कृतिले मनको कुरा गर्दछ । आखिर मानिस हुनुको अर्थ मन हुनु हो । मानिस आफ्नै मनले परिचालित हुन्छ र थामिन्छ । मनले जे सोच्दछ, त्यो सकारात्मक हुन सक्छ र नकारात्मक पनि । मनले मानिसलाई ज्ञानी बनाइदिन्छ र मुर्ख पनि । मनले नै मानिसलाई विकास र विनाशको विन्दुमा पु¥याउँछ । मन सही किसिमले चल्यो भने जीवन सुखमय, समृद्धिमय बन्छ । नत्र दुःख, कष्ट र विवादको खाडलमा पर्दछ । 

यो कृति पढ्दा एउटा उपन्यास पढ्दैछु कि भन्ने भान हुन्छ । मानिसको जीवन, जिन्दगी, भोगाई, पीर, व्यथा, खुशी, आशा, नटखट, ठुस्काइ, घुर्की, ढाँट, सत्य र इमान आदिलाई कथाहरुको रुपमा पस्केका छन् लेखकले । यस कृति पढ्नुको आनन्द यसको लेखनकलामा छ, कथा सुनाउने शैलीमा छ । 

मुलधारका, लोकप्रिय, प्रचलित, समकालीन र उत्कृष्ट अझ भनौ पाठकमैत्री छ यो कृति । आख्यान पढ्नुको आनन्द यस कृति पढ्दा पाइन्छ । विषयवस्तु उठान र बैठान आदि उत्तम छन् । यस कृति पढिसकेपछि पाठकवर्गले आफ्नो जिन्दगीको लागि महत्वपूर्ण मार्गदर्शन पाउँदछन् । मोफसलमा रहेका स्रष्टाहरुबाट यत्तिको उत्कृष्ट कृति सिर्जना हुनुले निश्चय पनि नेपाली भाषा साहित्य जगेर्ना अभियानमा समेत ठूलो टेवा पुग्दछ । 

एउटा कथा पढेपछि अरु कस्ता होलान् ? भन्ने खुल्दुलीले पछ्याइहन्छ । रचनाहरुले पाठकवर्गको लामो समयको तृष्णा मेटाइदिन्छ । यो कलात्मकता कमै लेखकमा हुन्छ । अझ मोफसलमा बसेर एउटा नवीन शैली र ढाँचामा आफूलाई ढाल्नु नै चुनौतीपूर्ण हुन्छ । त्यो चुनौतीको ढोका लेखक सिग्देलले पार गरेका छन् । 

सिग्देलका यस अघि जीवनको गति, पूर्वको राजनीति, मनोनेट कथासंग्रह र एक दिन (समयकथा ) जीवन, यात्रा र भोगाई कृतिहरु प्रकाशित भएका छन् । मैले ती सबै कृति छिचोलेको छु । जसरी मनको कैदीले मलाई तानिरह्यो, उसरी नै म ती कृतिमा रमाएको थिएँ ।