- गाेपाल काफ्ले
पछिल्लो समय नेपालमा व्यक्तिका निजी जीवनमा आधारित विषयहरू सामाजिक सञ्जाल विशेष गरी युट्युबमा प्रवाह गर्ने कार्यले तीव्रता पाएको छ । प्रेम जीवन, बिछोड, आत्महत्या अनि यौनसँग जोडिएका सामग्रीहरू युट्युबमा बग्रेल्ती पोस्ट गरेको पाइन्छ ।
‘पत्रकार’को परिचय दिँदै समाजका विभिन्न पक्षसँग पुगेर तिनका निजी जीवनका अनेकन पाटोहरू खोतलेर युट्युबमा भिडियो अपलोड गर्दा सयौँको घरपरिवारमा विखण्डन आइरहेकामा हामी अनभिज्ञ छैनौँ ।
‘युट्युबर’हरूले आफ्नो साइटमा टीआरपी बढाउन र डलर कमाउन गरिरहेका यस्ता हर्कतले व्यावसायिक पत्रकारको गरिमामा गम्भीर आँच पुगिरहेको छ । उल्लिखित घटनाहरूले समाजलाई पारिरहेको प्रभाव विश्लेषणसँगै यस आलेखमा पत्रकार, युट्युबर, सञ्चार कानुन र पत्रकार आचारसंहिताका बारेमा केही चर्चा गर्ने जमर्को गरेको छु ।
युट्युबर उर्फ ‘पापाराजी’
के युट्युबरहरू पापाराजी हुन् ? प्रसङ्ग यहाँबाट सुरु गरौँ । अखबार र म्यागेजिनहरूका लागि ‘हटकेक’ फोटोहरू बेच्न पल्किएका पापाराजीहरू अहिले पनि विश्वभर सक्रिय छन् । पापाराजीहरूले विशेष गरी सेलिब्रेटीका गोप्य सम्बन्धहरू, अङ्गहरूको तस्बिर र भिडियो खिचेर सञ्चार माध्यमलाई बेच्छन् । तर उनीहरूलाई फोटो पत्रकारका रूपमा परिचय गराइएको पाइन्न । पापाराजीहरू कुशल फोटोग्राफर भने पक्कै हुन् । उनीहरू सेलिब्रेटीका गोप्य सम्बन्ध उजागर गर्ने हिम्मतिला फोटोग्राफर हुन् भन्न सकिन्छ ।
इतिहासलाई फर्केर हेरौँ, बेलायतकी पूर्वयुवराज्ञी डायनाको कार दुर्घटनामा मृत्यु हुनाको कारण पापाराजीहरूले पछ्याउनु नै थियो । भ्यानिटी फ्येर म्यागेजिनको निष्कर्ष उल्लेख गर्दै हिमालखबरमा छापिएको छः व्यक्तिगत जीवनमाथि मिडियाले देखाएको अतिरिक्त चासोले राजकुमारी डायनाले ज्यान गुमाउनुपर्यो ।
डायनाको मृत्युको कारण के हो ? औपचारिक फैसला गर्भमा नै छ । तर सजिलै बुझ्न सकिने कुरा के हो भने मिडिया पछ्याइरहेको थियो र उनी भागिरहेकी थिइन् । त्यही लुकामारीले उनको ज्यान लिएको हो ।
के युट्युबरले मुलुकको ऐन, कानुन, नीति, नियम मान्नु पर्दैन ? उनीहरू पनि पत्रकार नै हुन् ? हुन् भन्ने पक्ष सबल छ भने– तिनले पत्रकार आचारसंहिताको पालना गर्नुपर्छ कि पछि पर्दैन ?
३१ अगस्ट सन् १९९७ मा पेरिसमा कार दुर्घटनामा परेर तत्कालीन प्रिन्सेस अफ वेल्स डायनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा उनका प्रेमी इजिप्टियन बिलिनियोर मोहमद अलफायदका छोरा डाडी फायद र कार चालक हेनरी पाउलको पनि मृत्यु भयो । तर डायनाका सुरक्षा गार्ड ट्रेभोर रेस जोनस भने बाँचे ।
ट्रेभोरको बयानका आधारमा–फायद र डायना मध्यरातको समयमा सेइनी नदीको किनारमा भेटिएको दृश्य खिच्न पापाराजी फोटोग्राफरहरूले पछ्याएपछि त्यहाँबाट भागेर उनीहरू बसेको रिज होटलतर्फ जान लाग्दा कार दुर्घटना भएको थियो ।
पापाराजीहरू डायनाको पछि लागेर निजी जीवनमा अतिरिक्त चासो नराखेका हुन्थे भने आज उनी सायदै जीवित हुन्थिन् तर भाग्दाभाग्दै दुर्घटनामा भयाे । आज नेपाली समाजमा पनि युट्युबरहरू यसरी नै व्यक्तिको निजी मामिलामा खनजोत गरिरहेका छन् ।
कसकी श्रीमती को पुरुषसँग बसेर होटलमा चिया खाएको भन्नेदेखि आत्महत्या गरेकी युवतीको गर्भमा ‘उसको’ बच्चा खेलिरहेको छ भन्नेसम्मका विषय युट्युबमा अपलोड गरिएका छन् । युट्युबरहरू ‘अनलाइन मिडिया’को कार्ड आफैँ बनाउँछन्, भिर्छन् अनि ‘बुम’ बोकर समाजलाई आतङ्कित बनाउँछन् ।
कहिले झाडीमा बालक भेटिएको फन्डा गर्छन् त कहिले रहस्यमय घटनाको आफैँ न्यायाधीश बनेर फैसला सुनाइरहेका हुन्छन् । समाजमा अपाच्य हुने खालका सामग्रीहरू प्रस्तुत गर्छन् । कतिपय युट्युबरले महिलाको मान–प्रतिष्ठा, इज्जतमा धक्का पुग्नेगरी निजी जीवनका कुरालाई सार्वजनिक गरिरहेका छन् ।
जुन संविधान र कानुनको बर्खिलाप हो । यसरी कसैको इज्जत उछालेर एकपक्षीय रूपमा समाचारको नाउँमा अनधिकृत व्यक्तिलाई कानुन मिच्ने अधिकार छँदैछैन ।
यसरी नागरिकको गोपनीयताको हकविरुद्ध, महिला हिंसालाई प्रोत्साहित हुने गरी खिचिएका भिडियो सार्वजनिक रूपमा प्रसारण भइरहँदा पनि राज्य टुलुटुलु हेरेर बसेको छ । समाजमा हिंसा भड्काउने, सार्वजनिक नैतिकता र शिष्टाचारमा खलल पुर्याउनेलगायत कसुरमा कारबाही गर्न सक्नुपर्छ ।
अब प्रश्न उठ्छ, के युट्युबरले मुलुकको ऐन, कानुन, नीति, नियम मान्नु पर्दैन ? उनीहरू पनि पत्रकार नै हुन् ? हुन् भन्ने पक्ष सबल छ भने– तिनले पत्रकार आचारसंहिताको पालना गर्नुपर्छ कि पछि पर्दैन ? पत्रकारिताको सिद्धान्तका रूपमा स्वीकार गरिँदै आएको एबिसीको पालना गर्नुपर्छ कि पर्दैन ? होइनन् भने यिनलाई किन यसरी खुला रूपमा व्यक्तिगत जीवनमाथि आँच पु¥याउने गतिविधिहरू गरिरहँदा सरोकार राख्ने नियामक निकाय मूकदर्शक बनेर बसेका ! ? यसको नियमन गर्ने कुनै निकाय छ कि छैन ? केवल साइबर अपराधको कानुन मात्र यसमा आकर्षित हुन्छ कि सार्वजनिक अपराधको मुद्दा पनि चलाउन मिल्छ ?
के युट्युबरहरू पनि ‘पापाराजी’ जस्तै हुन् । डायनाको निजी जीवनमा पापाराजीले अतिरिक्त चासो दिएका कारण कार दुर्घटनामा ज्यान गुमाउनुपरेको थियो । आज नेपालका सयौँ परिवारहरू युट्युबरका कारण नकारात्मक सन्देश फैलाएर अप्ठ्यारोमा छन् । यिनलाई कसले न्याय दिन्छ ? आचारसंहिता पालना भए–नभएको हेर्ने निकाय प्रेस काउन्सिल नेपालको धारणा के हुनुपर्छ ? धेरै पीडित आज यसको प्रतीक्षामा छन् ।
सञ्चार अध्येता भानुभक्त आचार्यले ‘पापाराजी’हरू पत्रकार होइनन्, अपराधी हुन् भनी ठोकुवा गरेका छन् । पत्रकारिताका सात महापाप शीर्षकमा उनले अनुमतिबिना चर्चित व्यक्तिका निजी जीवनका तस्बिर खिचेर मिडियालाई बिक्री गरी जीविकोपार्जन गर्ने ‘पापाराजी’हरू पत्रकार होइन, अपराधी हुन् भनी उल्लेख गरेका छन् ।
चिरपरिचित सञ्चार माध्यमको नामका पछाडि फुर्को जोडेर खोलिएका कतिपय अनलाइन पोर्टल र युट्युब स्लगमा ‘स्टिङ अपरेसन’को नाममा आतङ्क नै सिर्जना हुने गरी सामग्रीहरू पोस्ट गरिएको पनि पाइन्छ । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको सिको गरेर केहीले स्टिङ अपरेसनको नाममा आचारसंहिताको धज्जी उडाइरहेका छन् ।
वास्तमा तिनलाई ‘स्टिङ अपरेसन’को अर्थ र तरिका के हो भनी प्रश्न राखियो भने अक्क न बक्क परेका थुप्रै उदाहरण हामीसँग छन् । पढेर सिकेर, जानेर, बुझेर विधिपूर्वक गरिएका काम सफल भएका छन् तर आफैँ न्यायाधीशको जस्तै निष्कर्ष निकालेर समाजका विभिन्न क्षेत्रका जिम्मेवार मानिसको चरित्रहत्या गरिँदै आएकाले अब यसको निराकरण हुन आवश्यक छ ।
फेरि पनि सञ्चार अध्येता भानुभक्त आचार्यका शब्द सापटी लिन उपयुक्त हुन्छ । उनी लेख्छन्– अमेरिका, भारत, न्युजिल्यान्डजस्ता देशमा स्टिङ अपरेसनलाई मान्यता दिइएको छ भने स्विडेनजस्ता कतिपय देशमा छद्मभेषी रिपोर्टिङलाई अपराध मानिन्छ ।
पत्रकार आचारसंहिता
नेपाली पत्रकारहरूलाई पेसाप्रति नैतिकवान् बनाउन २०२३ सालदेखि आचारसंहिता बनाउन थालिएको इतिहास छ । नेपाल पत्रकार सङ्घको वीरगन्ज महाधिवेशनले बनाएको पत्रकार आचारसंहितालाई पहिलो मानिन्छ । अहिले पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) कार्यान्वयनमा छ ।
जसमा अनलाइन सञ्चार माध्यमलाई समावेश गरिए तापनि युट्युबलाई समावेश गरिएको छैन अनि पत्रकारको परिभाषामा युट्युबरलाई समेटिएको छैन । आचारसंहिताको दफा २ परिभाषा खण्डको उपदफा ११ मा ‘सञ्चारमाध्यम’ भन्नाले नेपालमा सञ्चालित छापा माध्यम, रेडियो, टेलिभिजन, अनलाइन सञ्चार माध्यम र समाचार एजेन्सीलाई सम्झनुपर्छ भनिएको छ ।
यस्तै दफा २ परिभाषा खण्डको उपदफा ६ मा ‘पत्रकार’ भन्नाले सञ्चार प्रतिष्ठानमा व्यवस्थापकीय तथा प्रशासकीय अधिकार प्राप्त गरेको व्यक्तिबाहेक सञ्चारसम्बन्धी व्यवसाय वा सेवालाई प्रमुख व्यवसाय अपनाई पारिश्रमिक लिई सञ्चार प्रतिष्ठानमा पूर्ण वा आंशिक समय काम गर्ने व्यक्ति सम्झनुपर्छ भनिएको छ ।
सो शब्दले सञ्चार प्रतिष्ठानमा समाचार सामग्री सङ्कलन, उत्पादन, सम्पादन वा सम्प्रेषण गर्ने प्रधानसम्पादक, सम्पादक, संवाददाता, स्ट्रिञ्जर, समाचारवाचक, कार्यक्रम निर्देशक, अनुवादक, साजसज्जा, प्राविधिक, स्तम्भलेखक, फोटो पत्रकार, प्रेस क्यामरापर्सन, व्यङ्ग्य चित्रकार, कार्यक्रम निर्माता वा सञ्चालक, दृश्य वा भाषासम्पादकजस्ता समाचार तथा समाचारमूलक कार्यक्रमसँग सम्बन्धित व्यक्तिसमेतलाई सम्झनुपर्दछ ।
यस परिभाषाले युट्युबसहित सामाजिक सञ्जालहरूलाई सञ्चार माध्यम मानेको छैन । अनि समाचारकै रूपमा सामग्रीहरू उत्पादन गरी युट्युममा अपलोड गर्नेहरू पत्रकार होइनन् भन्ने कुरा प्रस्ट भएको छ । तर कतिपय युट्युबमा आधिकारिक सञ्चार माध्यमका सामग्रीहरू राखिएका हुन्छन्, आधिकारिक रूपमा सञ्चालन गरिएका हुन्छन् । यिनलाई र यिनको कामलाई सम्बोधन गर्न आवश्यक छ ।
पत्रकार आचारसंहिता २०७३ को दफा ५ मा पत्रकार तथा सञ्चार माध्यमहरूले गर्न नहुने कार्यहरूबारे उल्लेख छ । तर आज कहीँकतै दर्ता नै नभएका अनलाइन न्युजपोर्टलहरू भ्रामक समाचारको खेती गरेर जीविका चलाइरहेका छन् । धेरैले टिआरपीका लागि फन्डा गरिरहेको अवस्था छ ।
यस्ता पोर्टलमा न त सम्पादकको नाम हुन्छ, न त कार्यालयको ठेगाना नै । प्रेस काउन्सिल नेपाल, सूचना तथा प्रसारण विभाग, इन्टरनेट सेवाप्रदायक कम्पनी तथा नियामक निकायहरू तिनलाई किन प्रतिबन्ध लगाउन सकिरहेका छैनन् ? यो पनि गम्भीर विषय बनेको छ ।
सञ्चार कानुन र पत्रकार आचारसंहिता पूर्ण पालना गर्ने अनलाइन न्युजपोर्टलहरू विज्ञापन नपाएर दुःखजिलो गरी आफ्नो उत्तरदायित्व निर्वाह गरिरहँदा यस्ता अनधिकृत पोर्टलहरूमा विज्ञापनको बाढी लागिरहेको पाइन्छ । यी सबै कुराहरूले ‘काम गर्ने कालु, मकै खाने भालु’को उक्ति चरितार्थ बन्दै गएको छ ।
निष्कर्षः
युट्युबरले पत्रकार परिचयपत्र भिर्ने हैसियत राख्छ भने उसले पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नुपर्दछ । व्यक्तिको निजी जीवनमा प्रवेश गर्नुको साटो उक्त विषय वा घटनाले समाजलाई के कस्तो असर वा प्रभाव पारेको छ, सोको मूल्याङ्कन पछि मात्र समाचार प्रकाशन प्रसारण गरिनुपर्दछ ।
आचारसंहिता कार्यान्वयन गर्ने, अनुगमन गर्ने एवं पालना गर्ने निकायहरू प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासङ्घ, प्रादेशिक सञ्चार प्रतिष्ठानलगायत पत्रकारका पेसागत सङ्गठनहरूले आचारसंहिताबारे पत्रकारहरूलाई मिहिन ढङ्गले अध्ययन गराउनुपर्दछ । पत्रकार र सञ्चार माध्यमको परिभाषाभित्र नसमेटिएका तर समान प्रकृतिका काम गर्दै आएका पेसेवरहरूलाई छुट्टै विधिको प्रयोग गरी तालिमलगायतको व्यवस्था गरिनुपर्दछ ।
सञ्चार कानुन, साइबर कानुनले सबै नेपालीलाई पक्कै बाँधेको छ तर आचारसंहिताले नबाँधेका समान काम गर्ने पेसाकर्मीलाई पनि यसको शिक्षा दिन ढिला गर्न हुँदैन ।
पत्रकार गोपाल काफ्लेको यो लेख हामीले प्रेस काउन्सिल नेपालको त्रैमासिक जर्नल संहिताबाट साभार गरेका हौँ ।