- रविना मैनाली
सरकार म पनि खुलेआम हिँड्न चाहन्छु। आफ्नो पंखा फैलाएर त्यो चरी जस्तै स्वतन्त्र यो धर्तीमा उड्न चाहन्छु। मेरो क्षमता र विवेकले मेरो घर, गाउँ अनि यो देशलाई कमेरोले दैलो पोते भन्दा राम्ररी सिँगारेर देखाउने छु। म लुकेर घरको दैलो पछाडि रोएर होइन घरको आँगनमा स्वतन्त्रताका साथ निस्केर नाच्न अनि उड्न चाहन्छु।
एक पटक मलाई स्वतन्त्र भएर उड्न सक्ने सुरक्षा त देउ सरकार म तिम्रो म माथि लगाएको गुुण बिर्सिने छैन त्यो गुणमा दाग लाग्न दिने छैन। म माथि गरेको बिश्वासलाई टुट्न दिने छैन। एक पटक मलाई पनि सुनिदे, मलाई पनि सुरक्षा दे सरकार!!
महिला सुरक्षा र स्वतन्त्रताको बोली मैले कविका गीत, गजल, सायरी मा सुने, लेख,कथा र चलचित्रहरुमा पनि नारीका भोगाइ र पिडालाई देखाएको पाए मैले सरकार मा आउने हर कोहीलाई सुने विभिन्न दलका विभिन्न पदका नेता र मन्त्री सम्मका भाषणलाई सुने हर कोहीलाई थाहा छ कि महिलाहरू माथि हुने अत्याचार कति सम्म हुने गर्दछ र त्यो आजको दिन सम्म मा पनि कम भएको छैन, महिला आज पनि पीडित र अन्यायमा छन भनेर हरकोहिले जानेका छन बुझेका छन तर किन कोही पनि महिला हिंसामा बोलेअनुसारको काम गर्दैन? भाषणमा प्रायजसोले छुटाउँदैनन् महिला सुरक्षा र स्वतन्त्रमा भाषण दिन।
कतिले कसमै खाएका छन्, कतिले लोभ लाग्दो सपना देखाएर गएकाछन्। चर्को आवजमा गर्दन फुलाउदै महिलाका हित र सुरक्षामा ठूला ठूला भाषण छाँट्दै सपना देखाउन कोही पछि परेनन्।
म र म जस्ता हरेक छोरी चेलीले त्यो झुटाे आश्वासनलाई सत्यता मान्दै आएका थियौ। हामी भ्रममा रमाउँदै गएका थियौ। हाम्रो स्वतन्त्रता र सुरक्षाको दिन आउने सपना दिउसै देख्दै थियौं। त्यस खोस्टा भाषण र ती झुटा व्यक्तिहरूमा देवताको रूप देख्दथियौ तर हामी सोझा अनि कोमल हृदय भएका यस देशका छोरी चेली सबै भ्रममा रहेछौं। त्यो बेला मलाई कहाँ थाहा थियो र कि यो एउटा देखाइएको झुटाे सपना हो भ्रम हो र त्यो भ्रम मेरो त्यसबेला तोडियो जब कि मेरै गाउँमा, मेरै सहरमा, मेरै सेरोफेरोमा फेरि पनि र आज पनि छोरी चेलीमा पहिले जसरी बलात्कार, कुटपिट, हत्या र विभिन्न प्रकारका हिंसाहरु मौलाउदै गयो र सहिरहेको छ।
सुरक्षा यहाँ हामी छोरीचेलीलाई होइन अपराधीलाई दिईरहिएको छ। महिला हिंसा र हत्याको घटनाहरुको हकिकत र सत्यतालाई दबाएर अपराधीहरु खुलेआम छाती फुलाएर तिनैको आँगन नागेर हिंड्छन तर सरकार,कनुन,न्याय हर कोही मौन छ। यो कानुन र न्यायले अपराधीलाई काध हालेर अन्यायमा परेकाको खिसी गर्दछ अनि अन्यायमा पर्नेहरु माथि खित्का छडी छाडि हास्दछ। हाम्रो मुलुकको कानुन र न्यायले सोझ साझा जनतालाई भ्रममा राखेर अपराधलाई बढवा दिएको छ।
के महिला सुरक्षा र स्वतन्त्रता सम्भव छैन? महिलामाथि हुने अत्याचार कविको गीत गजल र नेताको भाषण सम्मलाई मात्र हो?? के यहीँ न्याय हो?? महिलाको हक र हितका निमित्त कानुन किन कागजमै मात्र सिमित छ?? हाम्रो ठाँउ हाम्रो देशका हरेक छोरी चेलीलाई कसरी सुरक्षीत बनाउन सकिन्छ? दिनानुदिन बढ्दै गएको यो महिला हिंसाको कारण के?? किन यो प्रश्नहरु हाम्रो समाज,कानुन र न्यायलाई फाल्तु लागीरहेको छ?
हामी आफैले एक पटक सोचौं।चुपचाप भएर बस्नु या हिंसा सहनु यो सहनशक्ती नै महिला हिंसा बढनुको एक प्रमुख कारण पनि हो। महिला माथि हुने अत्याचार र शोषण प्रतिको समाजिक सोच र विचारमा परिवर्तन ल्याउन सकिन्छ र परिवर्तन हुन जरुरी पनि छ तर सबै भन्दा पहिलो कदम स्वयं महिलाले उठाउन पनि उत्तिकै जरुरी छ तसर्थ अब कोहि पनि महिलाले आफ्नो आवाजलाई दबिन नदिउ! भारी आवाजमा यहीँ कनुन र समाजलाई सुनाउ! महिला माथि हुने अपराधलाई ढाकछोप हुन नदियौं।
महिला कुनै पशु होइन उसलाई पनि एक पुरुषले झै स्वतन्त्र र सुरक्षीत भएर जिउने हक अधिकार छ। यस्ता हिंसा,दमन, सासन,शोषण,अत्याचारलाई जब सम्म सहिन्छ अनि आफ्नो आचलले छोपेर बसिन्छ तब सम्म यो बडेर जान्छ। यो कानुनले जति सुन्दैन त्यति चर्को आवज उठाउ अब हरदिन महिला हक र हितका निमित्त आवाज उठाउँ। महिला हिंसालाई चुपचाप बसेर बढवा नदिउ। महिला सुरक्षा र स्वतन्त्रतालाई कनुनको कागज मै सिमित हुन नदिउ। महिला सुरक्षा र स्वतन्त्रतालाई एक भ्रम हुन नदिउ अझै..
भगिरथा,सम्झना,निर्मला पन्थ जस्ता छोरीचेलीले बलत्कृत भएर मृत्युुसग हातेमालो गर्नु पर्यो। केही दिन यता झापका चेली सृजना बस्नेत र रोजिना गीरीको मृत्युको कारण पत्ता लाग्न सकिरहेको छैन। किन भयो? कसरी भयो मृत्यु भन्ने कुराको प्रश्न अहिले सबैको मन मस्तिष्कमा छ। घटना बारे समाज र परिवारका बोली भिन्न भिन्नै आईरहदा घटनाले र मृतकको शरीरले एक बोली बोलिरहेको देखिन्छ। यी त केहि समाजिक संजालमा चर्चामा आएका नाम हरु हुन यस्ता हजारौं घटनाहरु हरेक घरमा,गोठमा, मन्दिर,बाटो,जङ्गल,स्कुलमा हजारौं हिंसाहरु दबिएर बसिरहेका छन! जसको कुनै अड्कल नै छैन।
यसप्रकारका हत्याहरुले समुदायका हरेक चोरीचेली माथि एकप्रकारको मनसिक तनाव सृजना भइरहेको छ । स्वतन्त्र भएर बहिरफेर हिँड्न डुल्न त अब परको कुरा भयो यहाँ आफ्नै घर,कोठा भित्र छोरी चेली सुरक्षीत छैनन्। कोही पनि सुरक्षीत महसुस गर्न सकिरहेका छैनन् । तसर्थ सरकार छोरी चेलीलाई स्वतन्त्रता र सुरक्षा देउ, सुरक्षीत छौं भन्ने भ्रममा नराखिदेउ।