बिर्तामोड / आगामी मंसिर ९ देखि १३ सम्म हुने नेपाली कांग्रेसको महाधिवेशनको सरमगर्मी बढेको छ । १४ औं महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसभित्र यसअघि देखिएका गुटसँगै थप नयाँ गुटहरू बन्ने क्रम सुरु भएको छ ।
केन्द्रिय नेतृत्वका लागि बनेका गुटको असर वडा तहसम्म नै देखिएको छ । यसअघि तीनवटा गुट रहेको मानिएको कांग्रेसमा महाधिवेशनको तयारीसँगै थप गुट देखिएको हो । १२औं महाधिवेशनसम्म कांग्रेसमा दुईवटा गुट रहेका थिए ।
१३ औं महाधिवेशनबाट भने थप एउटा गुट स्थापित भएको थियो । तेह्रौँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा , वरिष्ठ नेता रामचन्द्र पौडेल गुट र नेता कृष्णप्रसाद सिटौलाको तिनवटा गुट देखिएको थियो ,जुन अहिले सम्म पनि कायम नै रहेको छ । यसपटक हुने महाधिवेशनमा भने तिनै तीनवटा गुटमा विभाजन भएर अन्य गुट बन्ने देखिएको छ ।
यसअघि सभापति देउवाका विश्वास पात्र मानिएका पार्टी उपसभापति विमलेन्द्र निधिले सभापति पदका लागि उमेद्धारी घोषणा गरेसँगै थप एउटा गुट तयार भएको हो । निधिको उमेद्धारीले देउवा गुट नै विभाजन हुने र देउवा कमजोर बन्ने आकलन गर्न थालिएको छ ।
विगतमा देउवा गुटमा नै रहेका प्रभावशाली युवा नेता कल्याण गुरुङले पनि सभापति पदका लागि उमेद्धारी घोषणा गरेकाले देउवा गुटलाई थप प्रभाव पार्ने अनुमान गरिएको छ । निर्वाचनको तयारीमा भएका उमेद्धारी घोषणाले देउवा समुहलाई पार्टी भित्र थप कमजोर बनाउने अनुमान गरिएको छ ।
त्यसैगरी यसअघि नेता कृष्ण प्रसाद सिटौला समुहका नेता भनेर चिनिएका गगन थापा पनि रामचन्द्र पौडेल समुहमा देखा परेपछि सिटौला गुट पनि कमजोर बन्दै गएको छ ।
रामचन्द्र पौडेल समुह भनेर कायम रहेको गुट भित्र समेत पौडेल सहित नेता प्रकाशमान सिंह , डा. शेखर कोईराला र डा. शशांक कोईरालाले सभापति पदका लागि आकंक्षा देखाएपछि यो गुट पनि छिन्नभिन्न हुने र थप गुट बन्ने अवस्था रहेको छ ।
पौडेल समुहका नेताले सामुहिक रुपमा पत्रकार सम्मेलन नै गरेर साझा उमेद्धार तय गर्ने घोषणा गरेको भएपनि त्यो हुने सम्भावना भने कम रहेको नेताहरु नै वताउँदै आएका छन् । पौडेल समुहका चारै जना नेता एक एर्कालाई सभापतिमा स्विकार्ने अवस्थामा नरहेको नेताहरुको भनाई छ ।
कांग्रेसमा संस्थापन पक्ष मानिएको सभापति देउवा गुटमा यतिवेला विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, रमेश लेखक, गोपालमान सिंह ,र महालक्ष्मी उपाध्याय, डिनालगायतका प्रभावशाली नेता उभिएका छन् ।
अर्को गुट मानिएको पौडेल समुहमा डा. रामशरण महत, डा. शशांक कोइराला, डा. शेखर कोइराला, सुजाता कोईराला , प्रकाशमान सिंह, डा.मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु र बलबहादुर केसीलगायतका नेता रहेका छन् ।
सिटौला समुहमा भीमसेनदास प्रधान, उमाकान्त चौधरी, शिवप्रसाद हुमागाईं र प्रदीप पौडेललगायतका नेता रहेका छन् । नयाँ बनेको निधि समुहमा ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद र प्रदीप गिरी सहित तराईका जिल्लाका नेता रहेको देखिएको छ ।
पौडेल गुट भित्रबाट लामो समय कांग्रेसमा आफ्नो परिवारको दवदवा कायम गर्न सफल कोईराला परिवारका नेताहरू डा. शशांक कोइराला , सुजाता कोईराला र शेखर कोइरालाले छुट्टै गुट बनाए त्यसमा अन्य गुटमा रहेका नेताहरु कृष्ण प्रसाद सिटौला , मीनेन्द्र रिजाल, गगन थापा, प्रदीप पौडेल र दीपक गिरीलगायत पुग्ने अनुमान गरिएको छ ।
महाअधिवेषनको तयारी सँगै सुरु भएको नेतृत्वको होडमा देउवा गुटबाट विमलेन्द्र निधि र कल्याण गुरुङले अलग हुँदै उमेद्धारी घोषणा गरेका छन् ।
तर पौडेल गुटमा नेतृत्वमा दाबी गर्नेको संख्या धेरै रहेको छ । पौडेल स्यम आफैं नेतृत्व लिन चाहिरहेका छन् भने कोईराला परिवारका उत्तराधिकारी मानिएका डा.शेखर कोइराला र डा. शशांक कोइरालाले पनि नेतृत्वमा दाबी गरिरहेका छन् ।
कोईराला परिवार भित्र भने साझा उमेद्धार तयार गर्न पारिवारीक छलफल तिव्र पारिएको अनि छिट्टै साझा उमेद्धार तय हुने वताईएको छ । कोईराला परिवारबाट यो महाधिवेषनमा कोहि एक जना सभापति पदका लागि उमेद्धार बन्ने निश्चित रहेको नेताहरुको भनाई छ ।
भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी र विपक्षि दल कांग्रेस आईको समर्थन जसले पाउँछ उसैलाई नेतृत्वमा अघि वढाउने निष्कर्षमा कोईराला परिवार पुगेको वताईन्छ । हिन्दु राष्ट्र र राजसंस्थाका विषयमा सजिलो मानिएका शशांक लाई उमेद्धार बनाउने पक्षमा भाजपा रहेको र कांग्रेस आई डा. शेखरलाई उमेद्धार बनाउने पक्षमा रहेकाले साझा उमेद्धार तयार पार्न कोईराला परिवारलाई समस्या भएको वताईएको छ ।