बिर्तामोड / गत निर्वाचनमा करिव दुई तिहाइ जनमत पाएको नेकपा फुटसँगै सुरु भएको दल विभाजनको शृंखलामै क्रममा फेरि फुटेको नेकपा एमाले विभाजनको असर गाउँसम्म नै देखिन थालेको छ । यति वेला एमाले फुटेर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादी रोज्न जनप्रतिनिधिले कानुनी रुपमा नै छुट पाएका छन् । एमालेबाट निर्वाचनमा विजयी वनेका जनप्रतिनिधी पनि नयाँ दलमा जानेक्रम चलिरहेको छ ।
प्रतिनिधि सभा , राष्ट्रिय सभा , प्रदेशसभा र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले यतिबेला निर्वाचन आयोगमा पुगेर नयाँ दलमा आफू गएको जानकारी गराइरहेका छन् । जनप्रतिनिधिलाई नयाँ दलमा जानबाट रोक्न एमालेले सक्दो कोसिस गरिरहेको छ । पार्टी विभाजनसँगै एमालेले संघीय सरकार गुमाई सकेको छ भने दुईवटा प्रदेश सरकार पनि गुमाएको छ ।
एमालेको नेतृत्वमा रहेका थप दुईवटा प्रदेश सरकार पनि अल्पमतमा परेका छन् । प्रदेश १ र वागमति प्रदेश सरकार पनि एमालेले गुमाउने निश्चित रहेको छ । पार्टी विभाजनका कारण सवै सरकार गुमाउने अवस्थामा पुगेको एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लामा भने शक्तिशाली देखिएको छ । देशभरका जनप्रतिनिधि नयाँ दलमा गइरहेका वेला यो समाचार तयार पार्दा सम्म झापाका जनप्रतिनिधि भने एमालेमा नै रहेका छन् ।
विगतमा एकीकृत समाजवादीका नेता माधव नेपाल – झलनाथ खनाल समुहमा रहेका झापाका नेताहरू भने बहुचर्चित गिरीबन्धु टि स्टेट जग्गा प्रकरणमा मुछिएका कारण नेपालको साथ छाडेर ओलीको पक्षमा लागेका छन् । बिक्रम सम्वत २००७ साल यताकै सबैभन्दा ठुलो भ्रष्टाचार मानिएको सो प्रकरणमा जोडिएका कारण झापाली नेताले वाध्य भएर ओली समुहलाई साथ दिएको आरोप लाग्न थालेको छ ।
नेपाल समुहका प्रभावशाली नेता भनेर चिनिएका नरेश खरेल, रविन कोइराला र पवित्रा निरौलालगायतले विवादास्पद जग्गा प्रकरणका विषयमा ओली नेतृत्वको सरकारलाई साथ दिएका कारण ओली समुह छाड्न नसकेको एकीकृत समाजवादीका नेताहरूको भनाई छ । एकीकृत समाजवादीका एक नेताका अनुसार कृषि प्रयोजनका लागि काम गर्न दिइएको अबौै मूल्यको जग्गा भूमाफियालाई सुम्पने काममा आर्थिक प्रलोभनमा परेका कारण उनीहरूले ओली समुह छाड्न नसकेका हुन् ।
झापाका ५ निर्वाचन क्षेत्रमध्ये प्रतिनिधिसभामा एमालेले ३ वटा जितेको छ भने प्रदेशसभामा एमालेबाट ९ जना सदस्य रहेका छन् । प्रतिनिधिसभामा ओलीसहित एलपी साँवा लिम्बू र पवित्रा निरौला खरेल प्रत्यक्ष निर्वाचनमा विजयी बनेका थिए भने कुमारी मेचे र विमला बिक समानुपातिक तर्फबाट निर्वाचित सांसद हुन् । राष्ट्रियसभामा एमालेकै देवेन्द्र दाहाल सदस्य बनेका थिए ।
एमाल विभाजन भएर एकीकृत समाजवादी वनेपनि झापाबाट प्रदेशसभा सांसद बनेका ९ जना नै सांसद एमालेमै रहने भएका छन् । केन्द्रिय संसद र प्रदेश सभामा एकजना पनि नयाँ दलमा गएका छैनन् ।
त्यसैगरि झापाका १५ स्थानीय तहका ७२३ जनप्रतिनिधिमध्ये एमालेका ४९३ जना रहेका छन् । जसमा ६ जना मेयर, ८ जना उपमेयर, एकजना गाउँपालिका अध्यक्ष र ४ जना उपाध्यक्ष छन् । उनीहरु पनि सबै यो समाचार तयार पार्दा सम्म एकीकृत समाजवादीको पक्षमा खुलेका छैनन् ।
जिल्ला समन्वय समितिमा पनि एमालेका प्रमुख सोमनाथ पोर्तेलसहित ९ जना पदाधिकारी रहेका छन् । उनीहरु पनि एमालेमा नै रहेका छन् ।
स्थानीय निकायमा रहेका वडा अध्यक्ष र सदस्य पनि एकीकृत समाजवादीमा नखुलेकाले सबै एमालेमा नै रहने भएको अनुमान गरिएको छ ।
निर्वाचन आयोगले नयाँ दल रोज्नका लागि २२ गतेसम्मको समय दिएको भएपनि शुक्रबारसम्ममा एकजना पनि नयाँ दल रोज्न नआएको जिल्ला निर्वाचन कार्यालयले जानकारी गराएको छ ।
पार्टी औपचारिक रुपमा विभाजन अघि सम्म स्थानीय तहबाट निर्वाचितमध्ये अर्जुनधाराका मेयर हरि राना,भद्रपुरकी उपमेयर चन्द्रा श्रेष्ठ र शिव सताक्षीकी उपमेयर भोजकुमारी नेपाल माधव नेपाल समूहका नेता भनेर चिनिएका थिए । तर विहीवार बसेको एमाले जिल्ला कमिटीको सचिवालय बैठकमा उनीहरु समेत सहभागि बनेकाले नेपाल समुह छाडेको मानिएको छ ।