विराटनगर / भन्सार कार्यालय भन्सार कर्मचारीका लागि कमाउने अखडा अर्थात मालदार कार्यालयका रुपमा चिनिने गरेको छ । गत वैशाख यता विराटनगर स्थित भन्सार कार्यालय पटक पटक कर छलीका घटनामा जोडिन थालेको छ ।
भन्सार एजेन्ट र कर्मचारीको मिलेमतोमा हुने गरेको भन्सार छलीमा संलग्न कर्मचारीमाथि कारवाही नहुँदा पूर्वका उद्योगी व्यवसायीले समेत मौका छोपेर सोही नाकाबाट सामान आयात तथा निर्यात गर्ने गरेका छन् ।
प्रदेश एककै ठुलो भन्सार कार्यालय मानिएको विराटनगर भन्सार कार्यालयबाट हुने करछलीको घटनामा संलग्न गिरोहले पनि कारवाहीमा सरकारले देखाएको उदासिनताको फाइदा उठाउँदै सोही नाकाबाट हुने कामलाई जारी राखेको छ ।
गत वैशाख यता सार्वजनिक भएका कर छलीका तीनवटा घटनामा संलग्न भन्सार कर्मचारीमाथि सरकारले कारवाही नगर्दाको फाइदा सो गिरोहले उठाइरहेको छ ।
पछिल्लो समयमा गत साउन ३ गते राती १० वजे न्यून मल्याङ्कन र प्रज्ञापनपत्रमा उल्लेख भएका भन्दा वढी सामाग्री सहित बाहिरिएका मालवाहक दुईवटा ट्याक्टर राजश्व अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको छ ।
राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख दीपक खड्का नेतृत्वको टोलीले भन्सारबाट बाहिरिएका को २ त ६८११ र बीआर जी ५०५३ नम्बरका दुई ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो ।
भारतीय कपडा र मेसिनरी सामान बोकेका ति दुई ट्याक्टरको अनुसन्धानमा १८ लाख कर छली भएको पाइएको थियो । अनुसन्धान प्रमुख खड्काले न्यून मल्याङ्कन गराएर १४ लाख अनि प्रज्ञापन पत्रमा उल्लेख नै नरहेका सामाग्री लान दिएर ४ लाख कर छली गरेको जानकारी गराएका थिए ।
करछलीको घटना सार्वजनिक भएपछि पनि विराटनगर भन्सार कार्यालयले सो समयमा भन्सारमा रहेका कर्मचारी र सामान आयातकर्ता फर्मका भन्सार एजेन्टलाई कारवाही नगरी एजेन्टका प्रतिनिधि अकबर अलीलाई मात्रै कारवाही गरेको छ ।
भन्सार एजेन्ट भरतराज भट्टराई र भन्सार कर्मचारीमाथि कारवाही गर्नुको सट्टा तिनलाई जोगाउन भन्सार प्रमुख शिव भण्डारी नै लागेका छन् । सो घटना अनि त्यसपछिको अनुसन्धान विवरण सार्वजनिक हुँदा समेत उनले करछलीमा संलग्न माथि कारवाही थालेका छैनन् ।
एजेन्ट र कर्मचारीसँगको मिलेमतोमा गत वैशाख यता भएका करछलीका घटनामा संलग्नलाई कारवाही नगरी जोगाउने कोसिसमा उनी लागेकाले उनको समेत भन्सारमा हुने करछलीका घटनामा संलग्नता रहेको आशंका समेत पैदा भएको छ ।
पछिल्लो समयमा उनी संचारमाध्यमसँगको सम्पर्कमा समेत नआई टाढै बसेका छन् । करछलीका घटनाका विषयमा सूचना अधिकारी सन्तोष यादवले अनुसन्धान कार्यालयको पूर्ण विवरण नआएकाले यो विषयमा आफूले केही पनि बताउन नसक्ने जनाएका छन् ।
गत वैसाख ११ गते राती पनि विराटनगर भन्सार कार्यालयबाट बाहिरिएका बीआर ३८ सी २८९१ र बीआर ३८ जे ८४५४ नम्बरका ट्याक्टर प्रहरीले विराटनगरकै रानी र रोडशेष चौक क्षेत्रबाट नियन्त्रणमा लिएको थियो ।
प्रज्ञापन पत्रमा उल्लेख भएका भन्दा वढी र उल्लेख नै नरहेका बस्तु समेत फेला परेपछि प्रहरीले ति ट्याक्टर कारवाहीका लागि इटहरी स्थित राजश्व अनुसन्धान कार्यालयको जिम्मा लगाएको थियो ।
विराटनगर भन्सारमा वैशाख यता फष्टाएको करछलीको धन्दामा संलग्न सरकारले कारवाही नगरेकैले गर्दा सो नाकाबाट आउने दैनिक लाखौं रुपैंया कर छली भईरहेको छ ।