काठमाडौँ। नेपाल उद्योग परिसङ्घले पूर्वी नेपालका केही जिल्लामा विकसित परिस्थितिप्रति चासो व्यक्त गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षसँग आग्रह गरेको छ ।
परिसङ्घले नेपाल सदियौँदेखि धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै आएको मुलुक भएकाले त्यसलाई जोगाइराख्नु सबैको साझा दायित्व भएको उल्लेख गरेको छ ।
विज्ञप्तिमार्फत परिसङ्घले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान संवाद र वार्तामार्फत खोजिनुपर्ने उल्लेख गर्दै आन्दोलन, हिंसा वा द्वन्द्वका माध्यमबाट समाधान ननिस्कने भएकाले सबै पक्षलाई संयमता अपनाउन, आपसी सद्भाव कायम राख्न तथा मुलुकमा शान्ति, सामाजिक र धार्मिक सहिष्णुता जोगाउन आग्रह गरेको छ ।
परिसङ्घले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेका बेला यस्ता घटनाले रोजगारी, उत्पादन र समग्र आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पार्ने जनाएको छ । आन्दोलनका क्रममा जनधनको क्षति हुनुका साथै सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, बजार र पसल बन्द गराउने तथा लुटपाटजस्ता घटनाप्रति दुःख र चिन्ता व्यक्त गर्दै आमनागरिक र उद्योग व्यवसायको सुरक्षाको प्रत्याभूति गराउन नेपाल सरकारसँग आग्रह गरेको छ ।
विज्ञप्तिमा सामाजिक, धार्मिक र साम्प्रदायिक सद्भाव कायम राख्न समाजका विभिन्न सङ्घ संस्था, निजी क्षेत्र तथा नेपाल उद्योग परिसङ्घका प्रदेश र जिल्ला शाखालाई शान्ति र सद्भाव प्रवर्द्धन गर्ने गतिविधिमा सक्रिय सहयोग गर्न पनि आह्वान गरिएको छ ।






































