काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठसँग जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तनाका आकिहिकोले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
मङ्गलबार मन्त्रालयमा भएको भेटमा नेपालको ऊर्जा, जलस्रोत र सिँचाइ पूर्वाधार विकासमा द्विपक्षीय सहयोगबारे चर्चा भएको थियो । मन्त्री श्रेष्ठले अहिलेसम्म नेपालको ऊर्जा तथा सिँचाइ क्षेत्रमा गरेको सहयोग तथा लगानीका लागि जाइकाका प्रतिनिधिलाई धन्यवाद दिनुभएको थियो ।
उहाँले जाइकाको सहयोगमा निर्माण भएको कनकाइ र चन्द्रनहर परियोजनाको पनि चर्चा गर्दै आगामी दिनमा पनि सहकार्य जारी रहने अपेक्षा गर्नुभएको थियो । मन्त्री श्रेष्ठले नागढुङ्गा सुरुङमार्ग निर्माणमा जाइकाले गरेको सहयोग र सहकार्यका लागि बधाई तथा धन्यवाद दिनुभएको थियो ।
सुरुङमार्ग उद्घाटन समारोहमा सहभागी हुन जाइका अध्यक्ष आकिहिको नेपाल भ्रमणमा आउनुभएको हो । नेपाल भ्रमणका क्रममा उहाँले ऊर्जामन्त्री श्रेष्ठसँग भेटी आपसी हित र सहकार्यका विषयमा छलफल गर्नुभएको हो ।
छलफलमा मन्त्री श्रेष्ठले नेपालको ‘क्लिन एन्ड ग्रिन इनर्जी’लाई विश्वसामु प्रवद्र्धनका लागि मद्दत गर्न आग्रह गर्नुभएको थियो । उहाँले नदी जलाधार क्षेत्र गुरुयोजना निर्माण भइरहेको जानकारी गराएका थिए ।
भेटमा अध्यक्ष आकिहिकोले तनहुँ जलविद्युत् परियोजनाको समस्या समाधान गरिदिन अनुरोध गर्नुभएको थियो । मन्त्री श्रेष्ठले तनहुँ हाइड्रोको समस्या समाधान गर्ने विश्वास दिलाउनुभएको थियो ।
ऊर्जामन्त्री श्रेष्ठले बजेटमा यसपालि प्रसारणलाइन विस्तारलाई प्राथमिकतामा राखिएको र यसका लागि ‘मास्टर प्लान’ बनिरहेको जानकारी गराउनुभयो । उहाँले वितरण प्रणाली मजबुत बनाउनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।
वैकल्पिक र नवीकरणीय ऊर्जा नै नेपालको समृद्धिको एउटा आधार भएको उल्लेख गर्दै त्यसलाई प्राथमिकतामा राखी योजना बनाएको उल्लेख गर्नुभयो ।
मन्त्री श्रेष्ठले जुनसुकै जोखिममा धान्न सक्ने जापनिज उच्चतम प्रविधि प्रयोग गरिएको कुलेखानी जलविद्युत् आयोजनाको पनि प्रशंसा गर्दै नलगाड जलविद्युत् आयोजनामा पनि सहकार्यका लागि आग्रह गर्नुभयो । विसं ०७२ को भूकम्पमा जाइकाले सहयोग गरेको स्मरण गर्दै मन्त्री श्रेष्ठले धन्यवाद दिनुभएको थियो ।
जाइका अध्यक्ष आकिहिकोले नेपालको ऊर्जा क्षेत्रमा सहयोग र सहकार्य गर्न इच्छुक रहेको बताउँदै नयाँ परियोजनाबारे चासो राख्नुभएको थियो । जाइका नेपालमा पूर्वाधार निर्माणको नवीन प्रविधि, अनुभव र लगानी गर्न तयार रहेको उहाँको भनाइ थियो ।






































