काठमाडौं । वर्षौंदेखि सहकारीमा जम्मा गरेको बचत फिर्ता नपाएपछि पीडित बचतकर्ताहरू फेरि सडकमा उत्रिएका छन्। सोमबार माइतीघर–बबरमहल क्षेत्रमा सयौं बचतकर्ता सरकारविरुद्ध नाराबाजी गर्दै तत्काल आफ्नो रकम फिर्ता गराउन माग गरेका हुन्।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले सरकारमाथि पीडितलाई बेवास्ता गरेको आरोप लगाए। उनीहरूले “जग्गा मिलानका नाममा ठगी बन्द गर“, “सहकारी पीडितलाई न्याय देऊ“, “ए सरकार, कि त मारिदेऊ, कि त खोला तारीदेऊ“ जस्ता कडा नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए।
प्रदर्शनकारीहरूको भनाइमा सरकारले पटक–पटक आश्वासन दिए पनि बचतकर्ताले आफ्नो पैसा अझै फिर्ता पाएका छैनन्। त्यसैले अब राहत होइन, प्रत्यक्ष न्याय र रकम फिर्ताको सुनिश्चितता चाहिएको उनीहरूको माग छ।
माइतीघर क्षेत्रमा भएको प्रदर्शनका कारण केही समय सडकमा चापसमेत बढेको थियो। पीडितहरूले दोषीमाथि कडा कारबाही, बचत फिर्ताको ग्यारेन्टी र सहकारी ठगी अन्त्य गर्न सरकारसँग तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन्।





































