रोल्पा–रुकुम जोड्ने शहीद मार्ग बर्खासँगै पहिरोको उच्च जोखिममा परेको छ। परिवर्तन गाउँपालिका–१ को लितुङ, खोलाबाङ र लिक्याङ–खरिबोट क्षेत्रमा पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ।

जोखिमका कारण प्रहरीले रातिको समयमा सवारी आवागमनमा रोक लगाएको छ। जीर्ण सडक, उप्किएको कालोपत्रे र कच्ची खण्डमा टिपरको अत्यधिक आवतजावतले यात्रा थप जोखिमपूर्ण बनेको छ।

२०६४र६५ सालदेखि निर्माण सुरु भएको करिब २२० किलोमिटर लामो शहीद मार्ग अझै पूर्ण हुन सकेको छैन। योजना कार्यालयले दिनमा सडक खुला राख्न प्रयास भइरहेको जनाएको छ भने जिल्ला प्रशासनले अत्यावश्यक बाहेक बर्खामा रातिको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।