काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ४४औँ स्मृति दिवस यसपटक पार्टी एकताको सन्देशभन्दा पनि आन्तरिक विभाजनको प्रदर्शन हुने भएको छ। कांग्रेसका संस्थापन र संस्थापनइतर पक्षले एउटै दिन फरक–फरक कार्यक्रम आयोजना गर्ने भएपछि पार्टीभित्रको विवाद फेरि सतहमा आएको हो।
सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले ुग्रीन रनुसहितका कार्यक्रम आयोजना गर्दैछ भने निवर्तमान सभापति शेरबहादुर देउवा निकट समूहले काठमाडौंको प्रज्ञा भवनमा छुट्टै शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ।विशेष महाधिवेशनलाई सर्वोच्च अदालतले वैधानिकता दिइसके पनि कांग्रेसभित्रको विवाद अझै टुंगिएको छैन। यही असन्तुष्टिका कारण देउवा पक्षले चुनदेवीमा सम्पर्क कार्यालय सञ्चालन गर्दै समानान्तर गतिविधि अघि बढाइरहेको छ।
देउवा निकट समूहका नेताहरूले प्रज्ञा भवनमा हुने कार्यक्रममा राष्ट्रिय भेलाको मिति घोषणा गर्ने तयारी गरेका छन्। सातै प्रदेशमा भेला सकिएको भन्दै अब राष्ट्रिय स्तरमा संगठन विस्तार र आगामी रणनीति तय गरिने उनीहरूको योजना छ।
देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति र विशेष महाधिवेशनबाट बनेको कार्यसमितिलाई समायोजन गरेर १५औँ महाधिवेशनमा जानुपर्ने माग दोहोर्याउँदै आएको छ। तर सभापति गगन थापाले विधानविपरीत हुने कुनै पनि माग स्वीकार गर्न नसकिने स्पष्ट गरिसकेका छन्।
उपसभापति विश्वप्रकाश शर्माले भने बिपी सबै कांग्रेसजनको साझा व्यक्तित्व भएकाले जहाँसुकै कार्यक्रम भए पनि त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताएका छन्।
यता देउवा उपचारका लागि हङकङमा रहेका बेला उनको समूहले अलग कार्यक्रममार्फत आफ्नो राजनीतिक शक्ति देखाउने तयारी गरेको छ। समूहभित्रै एकता सम्भव नभए नयाँ पार्टी गठनसम्मको बहस चलिरहेका बेला बिपी स्मृति दिवस कांग्रेसको आन्तरिक शक्ति परीक्षणको मञ्च बन्ने संकेत देखिएको छ।






































