काठमाडौं । सरकारले देशभर लागू भएको दुईदिने साप्ताहिक बिदा व्यवस्थापछि सार्वजनिक बिदा प्रणालीको समग्र समीक्षा गर्ने प्रक्रिया अघि बढाएको छ। बिदाको संख्या, आवश्यकता र प्रभावबारे अध्ययन गर्न अन्तरमन्त्रालयीय कार्यदल गठन गरिएको छ।
सरकारका सचिवहरूको बैठकले सार्वजनिक बिदा पुनरावलोकन आवश्यक ठहर गर्दै गृह मन्त्रालयको सहसचिवको संयोजकत्वमा कार्यदल बनाउने निर्णय गरेको हो। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अर्थ मन्त्रालयका प्रतिनिधि रहनेछन्।
उक्त कार्यदललाई हाल लागू सार्वजनिक बिदा व्यवस्थाको प्रभाव, सरकारी सेवा प्रवाह, आर्थिक गतिविधि र प्रशासनिक पक्षको अध्ययन गरी आवश्यक सुधारका सुझाव तयार पार्ने जिम्मेवारी दिइएको छ।
निर्णयअनुसार कार्यदलले १५ दिनभित्र आफ्नो अध्ययन प्रतिवेदन गृह मन्त्रालयमा बुझाउनुपर्ने छ। प्रतिवेदनका आधारमा सरकारले सार्वजनिक बिदाको संख्या, स्वरूप वा व्यवस्थापनमा आवश्यक परिमार्जन गर्ने वा नगर्ने विषयमा थप निर्णय गर्ने अपेक्षा गरिएको छ।
शनिबार र आइतबार दुई दिन साप्ताहिक बिदा कार्यान्वयनमा आएपछि सार्वजनिक बिदा व्यवस्थालाई नयाँ कार्य प्रणालीसँग मिलाउनुपर्ने आवश्यकता महसुस गर्दै सरकारले यो समीक्षा प्रक्रिया सुरु गरेको हो।






































