पोखरा। अविरल वर्षापछि पोखरा महानगरपालिका–१५ र १७ को सीमास्थित रातोपैह्रो क्षेत्रमा ठूलो पहिरो खस्दा सेती नदीको बहाव आंशिक रूपमा अवरुद्ध भएको छ। पहिरोले नदीको प्राकृतिक निकास रोकिएपछि माथिल्लो क्षेत्रमा पानीको सतह करिब ५० मिटरले बढेको प्रारम्भिक जानकारी आएको छ।

घटनाको जानकारी पाएलगत्तै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला प्रहरी प्रमुख एसपी नवीन कार्की तथा पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङसहितको टोली घटनास्थल पुगेर निरीक्षण गरेको छ।

प्रशासनले नदी आसपासका बस्तीलाई सतर्क रहन आग्रह गर्दै पहिरो र नदीको अवस्थाको निरन्तर निगरानी गरिरहेको जनाएको छ। लगातार वर्षा भइरहेकाले जोखिम अझ बढ्न सक्ने भन्दै आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले अनुरोध गरेका छन्।