काठमाडौं । केही घण्टाको अविरल वर्षाले काठमाडौंको जनजीवन अस्तव्यस्त बनेको छ। विशेषगरी अनामनगरस्थित धोबीखोला करिडोर जलमग्न हुँदा सडक नै नदीमा परिणत भएको छ भने दर्जनौं सवारीसाधन बाढीमा फसेका छन्। मदन भण्डारी कलेज आसपासको क्षेत्रमा पानीको बहाव एकाएक बढेपछि केही गाडी डुबेका छन्। फसेका सवारीसाधन निकाल्न प्रहरी र स्थानीयवासीले संयुक्त रूपमा उद्धार अभियान सञ्चालन गरेका छन्।
धोबीखोला करिडोरसँगै राजधानीका अन्य भित्री सडकहरू पनि डुबानमा परेका छन्। सडकमा पानी भरिएपछि सवारी आवागमन अवरुद्ध भएको छ भने कार्यालयबाट घर फर्किने सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ। निरन्तर वर्षासँगै नदी तथा खोलाको जलस्तर बढिरहेकाले जोखिमयुक्त क्षेत्रमा सतर्क रहन प्रशासनले आग्रह गरेको छ। मौसममा तत्काल सुधार नआए थप डुबान र ट्राफिक समस्या बढ्न सक्ने अनुमान गरिएको छ।






































