काठमाडौं । सरकार गठनको १०० दिनपछि प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह ले राजनीतिक दलहरूसँग संवादलाई तीव्र बनाएका छन्। यसक्रममा शुक्रबार सिंहदरबारमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको टोलीसँग करिब एक घण्टा लामो भेटवार्ता भयो। भेटमा संविधान संशोधन, रासायनिक मलको अभाव, सुकुम्बासी व्यवस्थापन, स्वास्थ्य बिमा र संसदप्रति प्रधानमन्त्रीको जवाफदेहिता गरी पाँच प्रमुख विषयमा केन्द्रित छलफल भएको थियो।
राप्रपाले सुकुम्बासीको व्यवस्थापनबारे चासो राखेपछि प्रधानमन्त्री शाहले व्यवस्थापन गरिने तर काठमाडौंभित्रै जग्गा उपलब्ध गराउन सक्ने अवस्था नरहेको स्पष्ट पारे। उनले होल्डिङ सेन्टरमा देखिएको समस्या पनि समाधान गरिएको जानकारी दिए। संविधान संशोधनबारे प्रधानमन्त्रीले अहिले प्रत्यक्ष संशोधन प्रक्रिया नभई बहसपत्र तयार गर्ने काम भइरहेको र कार्यदलले सबै सरोकारवालासँग छलफल गरिरहेको बताए। राप्रपाले राजसंस्था, हिन्दु राष्ट्र र संघीयता पुनरावलोकनका विषय पनि बहसमा समेटिनुपर्ने धारणा राखेको थियो।
स्वास्थ्य बिमाको सेवा निजी अस्पतालमा पुनः लागू गर्नुपर्ने राप्रपाको मागमा प्रधानमन्त्रीले व्यवस्थापकीय सुधारपछि निर्णय गरिने बताए भने किसानलाई मल अभाव हुन नदिने गरी सरकारले काम गरिरहेको दाबी गरे। छलफलमा संसदप्रति प्रधानमन्त्रीको जवाफदेहिता पनि उठेको थियो। राप्रपाले प्रधानमन्त्री नियमित रूपमा संसदमा उपस्थित भई उठेका प्रश्नको जवाफ दिनुपर्ने माग राखेपछि प्रधानमन्त्री शाहले संवादका लागि आफू खुला रहेको र आगामी दिनमा संसदमा नियमित उपस्थित हुने प्रतिबद्धता व्यक्त गरेको राप्रपाले जनाएको छ।






































