- देवेन्द्र के. ढुङगाना 

यो शहरमा

एक मुठ्ठी खानको लागि

जो मोरिरहे छन्—

तिनीहरू 

शहीद हुन ,

भोकले होइन,

व्यवस्थाले हत्या गरिरहे छन् 

उनीहरू 

पटक पटक

 मोरिरहे  छन ।

गल्लीहरू कराउँछन्,

ढुंगाहरू चिच्याउँछन्,

रातको अँध्यारोमा

आँसु र रगत मिसिएर

नदी बनेको छ—

जहाँ सपना 

डुबिरहे छन्,

र आशा किनारामा थिचिएका छन्।


यो शहरमा

नेताको भाषण चर्को छ,

तर पेटको आवाज झन् चर्को—

त्यो आवाज दबाउन

सत्ताको बुट चल्छ,

र सत्यलाई कागजको टुक्रामा

घिसारेर फालिन्छ।


भ्रष्टाचारको महल उचाइँमा छ,

जहाँ सुनको थालमा

झुटो पस्किन्छ,

र जनताको पसिना

करको नाममा लुटिन्छ।

ती नेताहरू,

जसका हातमा देशको नक्सा छ,

उनीहरूकै खल्तीमा

देशको आत्मा बेचिएको छ।


विदेशी इशारामा नाच्ने कठपुतलीहरू,

राष्ट्रको स्वाभिमानलाई

बजारमा राखेर

बोलपत्र खोलिरहेका छन्—

जहाँ बोली लगाउनेहरू

हाम्रा मालिक बन्न खोजिरहे छन्।


यो गाउँ बस्तीबाट 

युवाहरू पलायन हुँदैछन्—

आफ्नै आकाश छोडेर

पराइ बादलमुनि हराउँदैछन्।

किनकि यहाँ

उनीहरूको सपना सस्तो छ,

र श्रमको मूल्य

अपमानभन्दा पनि तल झरेको छ।


एउटा टिकट,

एउटा झोला,

र हजारौं अधुरा कथा—

त्यसैसँग

देशको भविष्य पनि उडिरहेको छ,

र खाली हुँदैछ

हाम्रो माटोको गर्भ।


तर अझै—

यो शहर बस्ती मरेको छैन।

यो शहर बस्तीहरु 

विद्रोहको गर्भ हो।

प्रत्येक आँखाले 

चेतनाको आगो बोकेको छ,

प्रत्येक मुट्ठीले 

क्रान्तिको बीउ

 रोप्ने छ ।


अब समय आयो—

भोकलाई नारामा बदल्ने,

आँसुलाई आगो बनाउने,

र डरलाई

ढुंगाजस्तै

 कडा पार्ने।


देशभक्तहरू हो,

उठौं—

एकजुट बनौं,

कसैले किनबेच गर्न नसक्ने

देश बनाऔं।


विदेशी हस्तक्षेपको

हात काट्नुपर्छ,

र कठपुतली नेताहरूलाई

जनताको अदालतमा

बयान दिन

 उभ्याउनु पर्छ।


यो माटो

हाम्रो हो—

यसको रक्षा

हाम्रो कर्तव्य हो।

हामी नउठे

इतिहासले धिक्कार्नेछ,

र भविष्यले

हामीलाई माफ

 गर्ने छैन।


एक मुठ्ठी भोकको विरुद्ध

एक मुठ्ठी विद्रोह उठोस्,

एक मुठ्ठी आँसुको विरुद्ध

एक मुठ्ठी आगो बलोस्।


यो शहरमा

अब कोही मोर्नु पर्दैन—

अब कोही शहीद हुनु पर्दैन—

यदि हामी 

उठ्यौं भने।


आऊ,

मुट्ठी कस्यौं,

स्वर उठाऔं,

र यो अँध्यारोलाई

एकैपटक च्यातेर फालौं।


किनकि

जनताको शक्ति नै

सबैभन्दा ठूलो सत्य हो—

र जब जनता hजाग्छ,

त्यो दिन

कुनै पनि अन्याय

बाँच्न सक्दैन।

भद्रपुर, झापा