- देवेन्द्र किशोर ढुङगाना 

कलम उठ्छ,

 जब

 अन्याय चिच्याउँछ

मसी बग्छ,

 जब 

रगत रोइरहेको हुन्छ

शब्दहरू 

बन्दूक होइनन् भन्दिन्छन् -उनीहरू,

तर शब्दले नै त ढाल्छ किल्ला,

शब्दले नै त तोड्छ जन्जीर—

त्यसैले डराउँछन् सत्ताका सिंहासनहरू

कलमको सानो नोकदेखि

 कम्पन  हुन्छन ।


यो कलम कुनै कागजको खेल होइन,

यो त भोकको बयान हो,

यो त श्रमिकको पसिनाले लेखिएको इतिहास हो,

यो त दलितको दबिएको स्वर हो

जसले कहिल्यै न्याय पाएन।

यो त किसानको चिरिएको हात हो

जसलेअन्न फलायो, तर पेट भरिएन।


क्रान्ति कुनै शब्द मात्र होइन,

यो त हरेक दिनको संघर्ष हो,

यो त अँध्यारो विरुद्धको 

उज्यालो हो,

यो त डर विरुद्धको साहस हो।

जब अन्याय सामान्य बन्छ,

त्यो बेला प्रतिरोध कर्तव्य बन्छ—

त्यहीँ जन्मिन्छ क्रान्ति।


हामीले देखेका छौं

सत्ताका अग्ला दरबारहरू,

जहाँ सत्यलाई थुनेर राखिन्छ

र झूटलाई राजमुकुट पहिराइन्छ।

हामीले सुनेका छौं

ती भाषणहरू,

जहाँ जनताको नाममा

जनतामाथि नै शासन गरिन्छ।


तर अब

शब्दहरू मौन रहने छैनन्,

कलम झुक्ने छैन,

र विचारहरू कैद हुने छैनन्।


यो समय हो—

जहाँ युवाहरूको मुटुमा आगो छ,

जहाँ सपनाहरू केवल सपना होइनन्,

संघर्षको 

घोषणा हुन्।

यो समय हो

जहाँ सडकहरू

 प्रश्न सोध्छन्,

जहाँ भीडहरू

 मौन होइनन्,

क्रान्तिको स्वर बनेका छन्।


हामी लेख्नेछौं—

त्यो इतिहास,

जुन किताबहरूमा लुकाइएको थियो।

हामी बोल्नेछौं—

त्यो सत्य,

जुन डरले दबाइएको थियो।


कलमले लेख्नेछ

शोषणको अन्त्य,

कलमले लेख्नेछ

समानताको सुरुवात।


हामी क्रान्ति चाहन्छौं—

हथियारको होइन,

चेतनाको।

हामी परिवर्तन चाहन्छौं—

नामको होइन,

व्यवस्थाको।


किनकि

यदि व्यवस्था अन्यायपूर्ण छ भने

त्यो व्यवस्था नै परिवर्तन हुनुपर्छ,

यदि कानुन नै कमजोरको विरुद्ध छ भने

त्यो कानुन नै पुनर्लेखन हुनुपर्छ।


हामी त्यो पुस्ता हौं

जो चुप बस्न सक्दैन,

जो अन्याय देखेर आँखा चिम्लन सक्दैन।

हामी

 त्यो आवाज हौं

जो दबाएर मर्दैन,

जति दबाय 

त्यति गुञ्जिन्छ।


हामीसँग 

बन्दूक छैन,

तर हामीसँग

 शब्द छन्—

र शब्दहरू

 कहिल्यै मर्दैनन्।


जब एउटा कविता लेखिन्छ,

त्यो केवल भावनाको अभिव्यक्ति होइन,

त्यो एउटा आन्दोलनको सुरुवात हुन सक्छ।

जब एउटा आवाज उठ्छ,

त्यो केवल

 विरोध होइन,

त्यो परिवर्तनको संकेत हुन सक्छ।


कलम 

हाम्रो शक्ति हो,

विचार हाम्रो हतियार हो,

र एकता हाम्रो विजय हो।


हामी लेख्दै जानेछौं

जबसम्म न्याय स्थापित हुँदैन,

हामी बोल्दै जानेछौं

जबसम्म आवाजहरू सुन्नेहरू हुँदैनन्।


किनकि

क्रान्ति एकदिनमा हुँदैन,

यो त हरेक दिनको संघर्षबाट जन्मिन्छ।

यो त हरेक चोट, हरेक आँसु,

र हरेक साहसको कथा हो।


अन्ततः

कलम र क्रान्ति छुट्टै होइनन्—

यी एउटै बाटोका दुई कदम हुन्।


कलमले बाटो देखाउँछ,

क्रान्तिले बाटो बनाउँछ।


र जब यी दुई एकसाथ अघि बढ्छन्—

त्यो दिन

इतिहास बदलिन्छ।

भद्रपुर, झापा