काठमाडौं— नेपाली काँग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले पार्टी विभाजन र विग्रहतर्फ जानु नेपाली काँग्रेस, नेपाली जनता र देशकै हितमा नरहेको स्पष्ट पारेका छन् ।

मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महतले पार्टी नेतृत्व लामो समयदेखि लचकता देखाउँदै एकताका लागि निरन्तर प्रयासरत रहेको बताए ।

उनका अनुसार केन्द्रीय कार्यसम्पादन समितिको निर्णय र नियमित अधिवेशन गर्ने निर्णय हुँदाहुँदै पनि विशेष अधिवेशन आयोजना भएपछि पार्टीभित्र समझदारी कायम गर्न नेतृत्व तहबाट निरन्तर संवाद र छलफल भइरहेको छ।

‘आम निर्वाचनको मुखमा पार्टी एक भएर जानुपर्छ भन्नेमा हामी स्पष्ट छौँ। निर्वाचनपछि नियमित अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने विषयमा कुनै दुविधा छैन,’ उनले भने, ‘अहिले विभाजन होइन, एकतामा जोड दिनुपर्ने समय हो।’

प्रवक्ता महतले पार्टी नेतृत्वले विशेष अधिवेशनका नाममा भइरहेको गतिविधिलाई अन्यथा दिशातर्फ नलैजान आह्वान गरेको जानकारी दिए । उनका अनुसार अझै पनि छलफलमार्फत सकारात्मक निकास निस्किने विश्वास नेतृत्वले लिएको छ।

‘बैठकमा पनि निर्णयभन्दा अघि संवादबाट सहमति खोज्ने प्रयास भयो। त्यसैले बैठक अनौपचारिक रूपमा टुंगिएको हो,’ उनले भने, ‘भोलि बिहान ८ बजे पुनः बैठक बस्दैछौँ। त्यसभन्दा अघि नै सकारात्मक परिणाम निस्कियोस् भन्ने हाम्रो अपेक्षा छ।’

नेपाली काँग्रेस लोकतन्त्रको प्रमुख धरोहर भएको उल्लेख गर्दै प्रवक्ता महतले काँग्रेस कमजोर हुँदा देश र लोकतन्त्र दुवै कमजोर हुने चेतावनी दिए ।

‘कुनै नयाँ वा अन्य दलले नेपाली काँग्रेसले दिएको विश्वसनीयता दिन सक्दैन,’ उनले भनाइ थियो।

उनले विशेष अधिवेशनमा सहभागी नेताहरूलाई पार्टीको आधिकारिक निर्णयको सम्मान गर्दै एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे । ‘पार्टी एकजुट हुँदा सबैको सम्मान हुन्छ, सबैको क्षमता र योग्यताको उपयोग हुन्छ,’ उनले भने ।

पार्टीलाई बलियो बनाउने विषयमा केन्द्रीय समितिमा छलफल र निष्कर्ष निकाल्ने परम्परा रहेको उल्लेख गर्दै प्रवक्ता महतले पार्टी निर्णयविपरीत समानान्तर गतिविधि पार्टी हितमा नरहेको स्पष्ट पारे ।