काठमाण्डौ । नेपाल प्रहरीको साइबर ब्युरोले ‘एसएमसी’ नामक मोबाइल एपमार्फत अनलाइन स्क्यामिङ र पिरामिड शैलीको ठगीमा संलग्न रहेको आरोपमा चिनियाँ नागरिकसहित ११ जनालाई पक्राउ गरेको छ ।
‘एसएमसीएन एड्भर्टाइजिङ सर्भिस सेन्टर प्रालि’ नामको कम्पनीलाई आवरणका रूपमा प्रयोग गरी यो समूहले नेपालभरका करिब ७० हजार नागरिकलाई ठगी सञ्जालमा जोडेको खुलेको ब्युरोले जनाएको छ । ब्युरोका अनुसार हालसम्म यस प्रकरणमा १२ करोड ८ लाख १६ हजार ३७२ रुपैयाँ बराबरको ठगी भएको देखिएको छ ।
यस सम्बन्धमा हालसम्म २५५ वटा सामूहिक उजुरी दर्ता भएका छन्, जसमा एउटै निवेदनमा परिवारका धेरै सदस्यहरू पीडित रहेको पाइएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा गिरोहका मुख्य मानिएका ३७ वर्षीय चिनियाँ नागरिक ही जियाङजियाङ रहेका छन् । उनलाई काठमाडौँको ठमेलस्थित होटल दि युनिभर्सलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा रामेछापका मलन श्रेष्ठ, तनहुँका सौगात थापा, नुवाकोटका वीर बहादुर तामाङ, चितवनकी सोनम खातुन, टोखाकी प्रिया केसी, गुल्मीकी मोनिका गुरुङ र धादिङकी गीता गुरुङ रहेका छन् । गिरोहका अन्य सदस्यहरू नासिर मिया अन्सारी (३७), सायरा खातुन (६६) र राम निवास प्रसाद कलवार (६७) लाई पर्सा र बाराबाट पक्राउ गरी काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।
ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिपक राज अवस्थीका अनुसार यो गिरोहले सर्वसाधारणलाई विश्वासमा पार्न विभिन्न भ्रमपूर्ण तरिकाहरू अपनाएको थियो । गिरोहले कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको नक्कली प्रमाणपत्र देखाएर र चितवनको खैरहनीमा भौतिक कार्यालय नै स्थापना गरेर काम कानुनी भएको भ्रम छरेको प्रहरीले जनाउको छ ।
त्यस्तै युनिभर्सल, वार्नर ब्रदर्स र डिज्नी जस्ता विश्वप्रसिद्ध कम्पनीका चलचित्रको विज्ञापन हेरेबापत पैसा पाइने झुठो दाबी गरिएको थियो । नयाँ सदस्य भर्ती गरेबापत आकर्षक कमिसनको प्रलोभन देखाई तीन तह (लेवल ए, बी, सी) मा सदस्य बनाउने गरिएको थियो। ‘ब्ल्याकरक’ जस्ता काल्पनिक कोषमा रकम राखे दैनिक १.२ प्रतिशतसम्म प्रतिफल दिने भन्दै ठगी गरिएको प्रहरीले जनाएको छ ।






































