बिर्तामोड  ।  झापाको कन्काई माईखोला नजिकै फेला परेको शंकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ।

कनकाई नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान झोलाभित्र शङ्कास्पद वस्तु फेला परेको छ ।कनकाई पुलको पूर्वतर्फ राजमार्गको छेउमा फेला परेको उक्त झोलाभित्र प्रेसर कुकर राखिएको र झोलाबाट तारजस्तो वस्तु बाहिर निकालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले शङ्कास्पद वस्तु के हो भन्ने यकिन भई नसकेको बताउँदै त्यसको पहिचान तथा सुरक्षित रूपमा डिस्पोज गर्ने तयारी भइरहेको जानकारी दिए । स्थानीयवासीले शङ्कास्पद वस्तु देखेपछि तत्काल सुरक्षा निकायलाई खबर गरेका थिए ।

घटनापछि प्रहरीले उक्त क्षेत्रलाई शिलबन्दी गरेको छ भने राजमार्गको अर्को छेउबाट सवारीसाधन तथा यात्रुहरूको आवागमन सुरक्षित रूपमा सञ्चालन भइरहेको छ ।घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ । शङ्कास्पद वस्तुको डिस्पोजका लागि नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ। 

शंकास्पद वस्तुसँगै त्यहाँ ‘सनातन सुरक्षा सेना नेपाल’ लेखिएको पर्चा समेत फेला परेको छ । पर्चामा राजसंस्था पुनःस्थापना, नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने लगायतका मागहरू उल्लेख छन् । त्यस्तै, माग पूरा नभए आगामी २१ फागुनमा हुने निर्वाचन बहिष्कार गर्ने चेतावनीसमेत पर्चामा दिइएको छ ।

FB_IMG_1767419736996