फिक्कल । सशस्त्र प्रहरी बलको इलाम पशुपतिनगर गुल्मका डिएसपी प्रकाश कोइरालाको हृदयघातका कारण मृत्यु भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं.२० गण हे.क्वा. काठमाण्डौ दरबन्दी भई सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे. क्वा. पशुपतिनगरका गुल्मपतिको रुपमा कार्यरत कोईराला बुधबार बिहान करिब ११:०० बजे अचानक चक्कर लागेर आफ्नै निवासको बेडरुममा बेहोस भएका थिए ।
कोइराला बुधबार बिहान सीमावर्ती क्षेत्र मानेभञ्ज्याङमा पेट्रोलिङ गरी फर्केका उनी कार्यालय आएपछि अकास्मात् ढलेका थिए । उपचारका लागि उनलाई स्थानीय पशुपतिनगर स्वास्थ्य केन्द्रमा लगिएपनि त्यहाँ उपचार सम्भव नभएपछि फिक्कल अस्पताल लगिएको थियो । चिकित्सकले बिरामीको अवस्था निकै गम्भीर भएको जनाएपछि मुटुरोग विशेषज्ञसहितको हेलिकप्टर मगाइएको थियो ।
फिस्टेल एयरको हेलिकप्टरमा काठमाडौंस्थित सशस्त्र प्रहरी अस्पताल लगिएका कोइरालालाई चिकित्सकले बुधबार साँझ ६ बजेतिर मृत घोषित गरेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । उनी एक साताअघिमात्रै पशुपतिनगरमा गुल्मपतिको जिम्मेवारी सम्हाल्न आएका थिए ।
लम्जुङ घर भई ललितपुरको बालकुमारी बस्दै आएका कोइराला २०६४ सालमा सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) मा भर्ना भएका थिए।डीएसपी कोइरालाको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ।






































