पर्सा । पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकको कमाण्डमा खटिएको टोलीले वीरगन्जबाट करिब ५ करोड रुपैयाँ बराबरको सुपारी बरामद गरेको छ ।
सुपारी लोड तथा अनलोड भइरहेको अवस्थामा २ कन्टेनर सुपारी बरामद गरिएको पर्साका प्रहरी प्रमुख एसपी पाठकले बताएका छन। विशेष सूचनाको आधारमा १८ सय बोरा सुपारीसहित २ जनालाई पक्राउ गरिएको हो ।
वीरगञ्ज महानगरपालिका–२ स्थित बाइपास रोडमा रहेको निशान्त सोनावर्तको दाल प्याकिङ गोदाममा सुपारी अनलोड भइरहेको सूचना प्राप्त भएपछि प्रहरीको टोलिले भन्सार छली ल्याइएको सुपारी अनलोड भइरहेको अवस्थामा ना ७ ख ७४२० नम्बरको ट्रेलर ट्रक नियन्त्रणमा लिइएको हो। साथै सुपारी अनलोड गर्नका लागि रोकिराखिएको ना.ख. ६८३२ नम्बरको १४ चक्के ट्रेलर ट्रक समेत शङ्कास्पद अवस्थामा फेला परेको छ ।
घटनास्थलबाट प्रहरीले ट्रेलर र ट्रक चालक जितपुर सिमरा उपमहानगरपालिका २० निवासी राम भरोस महरा र सोही नगरपालिकाको वडा नम्बर १९ निवासी रामप्रसाद यादवलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार नियन्त्रणमा लिइएका ट्रकहरूमा १८ सय बोरा सुपारी लोड गरिएको थियो, जसको अनुमानित मूल्य ४ करोड ७७ लाख ४० हजार बराबर रहेको प्रहरिले बताएको छ ।
बरामद सुपारी, ट्रक तथा पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।






































