सुर्खेत । कालिकोटको शुभ कालिका गाउँपालिका–३ की बुँदा शाहीको दैनिकी फेरिएको छ ।

सँधै खाद्यान्न बाली लगाउने बुदाले गाउँमै तरकारी खेती थालेपछि उनको दैनिकी फेरिएको हो । बारीमा तरकारी गोडमेल गर्ने, तयार भएको तरकारी टिपेर जम्मा गर्ने अनी त्यही तरकारी बेच्नका लागि नजिकैका बजारमा पु¥याउनु बुदाको दैनिकी बनेको छ ।

बुदाले गाउँमा तरकारी खेती गरेकी छन् । बारीमा फलेको तरकारी बिक्रिबाट घर खर्च चलेको छ । बुदाजस्तै शुभकालिका महिलाहरूले खेतबारीमा व्यवसायिक तरकारी खेती गर्दै आत्मनिर्भर बन्न थालेको बताएका छन् । स्थानीय स्तरमै तरकारी उत्पादन र बिक्री गरेर उनीहरूले राम्रो आम्दानी गर्दै आएका छन् ।

तरकारी खेती पहिलेदेखि गर्दै आएको भए पनि विक्री होला भन्ने विश्वास नभएका कारण आफ्नो घरका लागि पुग्ने तरकारी खेती र बाँकी खाद्यान्न खेती गर्ने गरेको बुदा बताउँछिन् ।

‘पहिला हामीले घरमा पुग्ने तरकारी उत्पादन गथ्र्यौ’ उनले भनिन्, ‘बिक्री गरेर आम्दानी गर्न सकिन्छ भन्ने थाहा थिएन,’ उनले भनिन् ।

गाउँमा गैरसरकारी संस्था भिडिसेफ नेपालले तरकारी खेतीको तालिमसंगै बीउबिजन, टनेल र प्राविधिक सहयोग पाएपछि अहिले गाउँका महिलाहरु तरकारी खेतीमा आकर्षित भएका हुन् । महिलाहरुले आफ्नै बारीको तरकारी बेचर मासिक ३० देखि ४० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको बुदालेले बताइन् ।

गाउँमा महिलाहरुले समूह गठन गरेर व्यवसायिक तरकारी खेतीका लागि महिलाहरु आकर्षित भएका छन् ।

२३ जनाको समूहमार्फत तरकारी उत्पादन गर्दै आएका देउती बज्यै कृषक समूहकी सचिव शान्ति चौलागाईंले तरकारी खेती थालेपछि समान्य खर्चका लागि पनि घरका अरु परिवारलाई गुहार्नुपर्ने र श्रीमान्संग माग्नु पर्ने बाध्यता हटेको बताईन् । ‘आफ्ना लागि चाहिने खर्च तरकारी खेतीबाटै जुटाउन सक्ने भएका छौ’ उनले भनिन्, ‘सामान्य खर्चका लागि बाहिरको मद्दतको आवश्यकता कम भएको छ ।’

गाउँमा तरकारी खेती थालेपछि रोजगारीको खोजीमा भारत जाने घरका सदस्यहरु पनि गाउँमै रोकिएको शुभकालिका–३ की बिष्णुमाया खड्काले बताइन् । ‘तरकारी खेतीबाट धेरै कमाउन नसके पनि आफूलाई खान पुग्ने र घरखर्च चलाउन पुग्ने रकम बचत गर्न सकिएको छ’ उनले भनिन् ।

आफ्नो बारीमा टमाटर, काँक्रा, काउली, बन्दा, सिमी, खुर्सानी र प्याज उत्पादनबाट मौषम अनुसार आम्दानी भएको उनले बताईन् । गाउँको तरकारी खेतीले कमाउनका लागि अन्यमुलक जानुपर्ने बाध्यता नरहेको उनको भनाइ छ ।

बुदा, शान्ति र बिष्णुमाया जस्तै यहाँका २३ जना महलिाहरुले थालेको व्यवसायिक तरकारी खेतीले उनीहरुलाई आत्मनिर्भर बनाएको ग्रामीण विकास तथा पर्यावरण संरक्षण मञ्च भिडिसेफ नेपालका कार्यक्रम व्यवस्थापक राजेन्द्र सहकारीले बताए । जलवायु परिवर्तन तथा हरित रोजगार कार्यक्रममार्फत शुभकालिकाकाका महिलाहरू व्यवसायिक तरकारी खेतीमा सक्रिय भएको उनको भनाई छ ।

महिलाहरूलाई व्यवसायिक खेतीतर्फ आकर्षित गर्न उनीहरूको खेतबारीमा गई प्राविधिक ज्ञान र मौसमी तथा बेमौसमी बीउ वितरण गरिँदै आएको सहकारीले बताए ।

‘महिलाहरूको व्यवसायिक तरकारी खेतीले गाउँको अर्थतन्त्रमा योगदान मात्र पु¥याएको छैन आत्मनिर्भर र रोजगारी सिर्जना गर्ने प्रेरणा पनि थपेको छ’ उनले भने ।