देवेन्द्र किशोर: नेपालको समकालीन राजनीतिमा पछिल्ला केही वर्षभित्र देखिएको सबैभन्दा महत्त्वपूर्ण परिवर्तन भनेको परम्परागत शक्ति संरचनाप्रतिको जनअविश्वास र त्यसको विकल्पस्वरूप नयाँ राजनीतिक चेतनाको उदय हो । यही परिवर्तित राजनीतिक मनोविज्ञानको केन्द्रमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उभिएको छ । यो केवल एउटा वैकल्पिक दलको रूपमा मात्र होइन, पुराना शक्ति केन्द्रहरूलाई चुनौती दिने नयाँ लोकतान्त्रिक राजनीतिक केन्द्रको रूपमा स्थापित हुने दिशातर्फ अघि बढिरहेको देखिन्छ । विशेषतः जेन–जी पुस्ताको आकांक्षा, डिजिटल युगको चेतना, पारदर्शिताको माग र प्रत्यक्ष उत्तरदायित्वको राजनीतिक संस्कृतिले रास्वपाको उदयलाई नेपाली राजनीतिमा एउटा ऐतिहासिक मोडको रूपमा उभ्याएको छ ।
रास्वपाको राजनीतिक प्रवेश केवल निर्वाचनको अंकगणितीय सफलता होइन, यो नेपाली समाजभित्र सञ्चित जनआक्रोश, राजनीतिक वितृष्णा र वैकल्पिक नेतृत्वको खोजीको प्रतिफल हो । दशकौँदेखि सत्ता र राज्य संयन्त्रलाई सीमित राजनीतिक समूहहरूको नियन्त्रणमा राख्ने प्रवृत्तिका कारण जनता दलभन्दा व्यक्ति, नीति भन्दा भागबण्डा र शासनभन्दा कार्यकर्ता पोषणको राजनीतिबाट थाकिसकेका थिए । यही परिस्थितिमा रास्वपाले आफूलाई नयाँ पुस्ताको राजनीतिक आवाजको रूपमा प्रस्तुत गर्यो । सडकको असन्तुष्टि र सत्ताको वैकल्पिक संरचना निर्माण गर्ने आकांक्षाबीच पुल बनेर आएको यो शक्ति अहिले राष्ट्रिय बहसको केन्द्रमा छ ।
विशेषगरी पार्टी सभापति रबी लामिछानेको नेतृत्वले रास्वपाको राजनीतिक उभारलाई तीव्र बनाएको देखिन्छ । आज पनि पार्टीभित्र वा आम जनतामाझ उनको विकल्प खोजिएको अवस्था देखिँदैन । यसले एउटा स्पष्ट सन्देश दिन्छ—रास्वपा अहिले व्यक्तित्व र विचारको मिश्रित संक्रमणकालीन मोडमा छ, जहाँ नेतृत्वले पार्टीको राजनीतिक ऊर्जा र जनविश्वासलाई केन्द्रित गरिरहेको छ । यही कारणले पार्टीलाई कमजोर पार्न वा बदनाम गर्न पार्टीभित्र र बाहिरबाट विभिन्न शक्ति केन्द्रहरू सक्रिय देखिनु अस्वाभाविक होइन । नेपाली राजनीतिमा जब कुनै नयाँ शक्ति उदाउँछ, पुराना संरचनाले त्यसलाई प्रतिरोध गर्नु स्वाभाविक प्रक्रिया हो ।
यद्यपि रास्वपाभित्र गुटबन्दी रहेको भन्ने विश्लेषणहरूलाई पार्टी पंक्तिले अस्वीकार गर्दै आएको छ । वास्तवमा रास्वपाभित्र विभिन्न वैचारिक पृष्ठभूमिबाट आएका व्यक्तिहरू समाहित भए पनि उनीहरूको साझा लक्ष्य राष्ट्र निर्माण र प्रणाली सुधार हो भन्ने सन्देश पार्टीले निरन्तर दिँदै आएको छ । यही कारणले पार्टीभित्र परम्परागत अर्थमा गुट–उपगुटको सम्भावना कम रहेको तर्क बलियो देखिन्छ । पार्टी आगामी महाधिवेशनतर्फ अघि बढिरहेको सन्दर्भमा पनि यही वैचारिक एकता र संगठनात्मक पुनर्संरचनालाई महत्त्वका साथ हेरिएको छ ।
यही असार ७, ८ र ९ गते हुने राष्ट्रिय महाधिवेशनलाई रास्वपाले केवल संगठनात्मक प्रक्रिया मात्र नभई नयाँ राजनीतिक संस्कृतिको परीक्षणको रूपमा प्रस्तुत गरिरहेको छ । विगतमा लामो समयसम्म चल्ने राजनीतिक छलफल र निर्णय प्रक्रियालाई यस पटक छोटो अवधिमै टुंग्याउने प्रयासलाई केहीले आलोचना गरे पनि यसलाई कार्यक्षमता र परिणाममुखी राजनीतिक अभ्यासको रूपमा पनि बुझ्न सकिन्छ । आजको जेन–जी पुस्ता लामा भाषणभन्दा त्वरित निर्णय, स्पष्ट नीति र नतिजामुखी काम चाहन्छ । यही कारण “फास्ट ट्रयाक” राजनीतिक कार्यशैली अहिले नयाँ पुस्तामाझ लोकप्रिय बन्दै गएको छ ।
यसबीच वर्तमान सरकारको कार्यशैली पनि उल्लेखनीय बहसको विषय बनेको छ । सरकारले प्रतिपक्षबाट आएका सुझावहरूलाई बजेट निर्माण प्रक्रियामा समेट्ने प्रतिबद्धता जनाउनु राजनीतिक परिपक्वताको संकेत मान्न सकिन्छ । यसले बहुदलीय लोकतन्त्रभित्र सहकार्य र सहअस्तित्वको नयाँ अभ्यासलाई बल पुर्याएको छ । प्रधानमन्त्री र अर्थमन्त्रीले नीति निर्माणमा प्रतिपक्षलाई समेत सहभागी गराउने संकेत दिनु नेपाली संसदीय अभ्यासका लागि सकारात्मक सन्देश हो ।
त्यस्तै सरकारको १०० दिने कार्ययोजनाले पनि प्रशासनिक सुधार, बेथिति अन्त्य, भागबण्डा नियन्त्रण र जनमुखी शासन प्रणाली निर्माणको प्रयास गरिरहेको दाबी गरिएको छ । मन्त्रीहरू सार्वजनिक समारोहभन्दा नतिजामुखी कामतर्फ केन्द्रित हुन थालेको सन्देशले राज्यप्रति नागरिकको भरोसा केही हदसम्म पुनर्स्थापित गर्ने वातावरण बनेको देखिन्छ । नेपाली राजनीतिमा लामो समयदेखि रहेको “देखाउने राजनीति” बाट “डेलिभरी राजनीति” तर्फको संक्रमण सजिलो छैन, तर त्यसको संकेत देखिन थालेको छ ।
यद्यपि नयाँ शक्तिहरूका लागि सबैभन्दा ठूलो चुनौती नैतिक विश्वसनीयता हो । रास्वपाका केही नेतामाथि उठेका प्रश्न र आरोपहरूले पार्टीलाई दबाबमा ल्याएको अवस्था पनि देखियो । तर गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनु र सम्पत्ति छानबिनका लागि समिति गठन हुनु राजनीतिक उत्तरदायित्वको दृष्टिले फरक अभ्यासका रूपमा हेरिएको छ । नेपाली राजनीतिमा विगतमा नैतिकता भन्दा शक्ति संरक्षण प्राथमिकतामा पर्ने गरेको सन्दर्भमा यस्तो कदमले नयाँ राजनीतिक संस्कृतिको संकेत दिन्छ ।
रास्वपाको उदयलाई केवल एउटा दलको विस्तारका रूपमा बुझ्नु पर्याप्त हुँदैन । यो नेपाली राजनीतिक संरचनाको पुनःपरिभाषा गर्ने प्रक्रियासँग जोडिएको विषय हो । जेन–जी पुस्ता अब केवल दर्शक होइन, प्रत्यक्ष राजनीतिक भागीदारी चाहने पुस्ता हो । डिजिटल प्लेटफर्म, वैकल्पिक सञ्चार माध्यम र सामाजिक चेतनाले यो पुस्तालाई परम्परागत राजनीतिक भाष्यभन्दा धेरै अगाडि पुर्याइसकेको छ । यही पुस्ताले अब राष्ट्रियता, सुशासन, पारदर्शिता र अवसरको राजनीतिलाई केन्द्रमा राख्न खोजिरहेको छ ।
यस अर्थमा रास्वपा आज वैकल्पिक शक्ति मात्र होइन, नयाँ राजनीतिक केन्द्र निर्माणको प्रक्रियामा रहेको शक्ति हो । सडक र सत्ता दुवै क्षेत्रमा एकैसाथ प्रभाव विस्तार गर्दै अघि बढ्नु यसको अवसर पनि हो र चुनौती पनि हो । यदि पार्टीले वैचारिक स्पष्टता, संगठनात्मक अनुशासन र नैतिक विश्वसनीयतालाई सन्तुलित रूपमा अघि बढाउन सक्यो भने यसले आधुनिक नेपालको नयाँ राजनीतिक संरचना निर्माणमा ऐतिहासिक भूमिका खेल्न सक्छ । अन्यथा, नेपाली राजनीतिमा धेरै पटक देखिएको आशा र निराशाको चक्रमा हराउने खतरा पनि उत्तिकै रहन्छ ।
आजको नेपाल संक्रमणकालीन मोडमा छ । पुराना शक्ति संरचनाहरू कमजोर बन्दै गएका छन् भने नयाँ शक्ति केन्द्रहरू अझै पूर्ण रूपमा संस्थागत भइसकेका छैनन् । यही बीचमा रास्वपा जस्तो शक्तिले लोकतान्त्रिक पुनर्जागरणको नेतृत्व गर्न सक्छ वा सक्दैन भन्ने प्रश्न अब केवल पार्टीको मात्र होइन, समग्र नेपाली राजनीतिका भविष्यसँग जोडिएको विषय बनेको छ ।






































