काठमाडौँ, २२ असारः भारतको दक्षिण–मध्यभागमा अवस्थित तेलङ्गना राज्य सन् २०१४ जुन २ मा जन्मिएको हो । त्यहाँका २९ मध्ये कान्छो यस प्रदेशले स्थापनाको छोटो समयमै हासिल गरेको विकास र त्यसको गति धेरैका लागि प्रेरणाको विषय बनेको छ । यसको स्थापना पाँच दशक लामो सङ्घर्षपछि भएको थियो, तर एक दशकमै त्यो सङ्घर्षको अभिष्ट पूरा गर्न देखाएको तदारुकता हाल भारतभित्रै उदाहरणीय बनेको छ । 


यहाँको समावेशी विकास, प्रविधि र नवप्रवर्तन, सांस्कृतिक सहिष्णुता र राजनीतिक स्थायित्वबारे धेरै नेपालीले सुनेका छन् । नेपालका केही सञ्चारकर्मीले भने हालै (१५–२८ जुन) दुई साता लामो पत्रकारिता तथा जनसम्पर्कसम्बन्धी तालिमका क्रममा त्यसलाई नजिकबाट देखेर फर्किएका छन् । त्यसमा पङ्तिकार पनि सहभागी थियो । दक्षिण अमेरिकी, अफ्रिकी र एसियन गरी विभिन्न १५ देशका प्रतिनिधिले त्यहाँको सङ्घीयता यात्राबारे बुझ्ने अवसर पाएका थिए । 


देखेको हैदराबादः सङ्घर्ष र सफलता


जानकारहरूका अनुसार तेलगु भाषी बाहुल्य यो क्षेत्र तत्कालीन निजाम शासक (मुस्लिम शासन) ले स्थापना गरेको हैदराबाद राज्यको हिस्सा थियो । भारत स्वतन्त्र भएपछि पनि यो क्षेत्र सन् १९४८ देखि हैदराबाद राज्यकै रूपमा अस्तित्वमा रह्यो । पछि सन् १९५६ मा आन्ध्र प्रदेशमा समाहित गरियो, तर यहाँका जनताले आफ्नो आत्मसम्मान, विकास र पहिचान संरक्षणको महसुस गरेनन् । त्यसैले सामाजिक न्याय, क्षेत्रीय समानता र स्थानीय अधिकारका लागि छुट्टै प्रदेशको माग गर्दै सन् १९६९ देखि ‘जय तेलङ्गना आन्दोलन’ सुरु भयो । विभिन्न चरणका आन्दोलन, सम्झौता र आन्दोलन हुँदै अन्ततः छुट्टै राज्य बन्यो । यही प्रदेशको राजधानी हो, हैदराबाद । 


सन् १५९१ मा मुहम्मद कुली कुतुब शाहले स्थापना गरेको भनिएको यो सहर, इतिहास र भविष्यको सङ्गमजस्तै लाग्छ–जहाँ एकातर्फ चारमिनार, गोलकोँडा किल्ला, उर्दू संस्कृति र सभ्यताले परम्पराको झल्को दिन्छ । अर्कातर्फ, हाइ–टेक सिटी, साइबराबाद, नलेज सिटी र स्टार्टअप हबले आधुनिक समयको गति बोक्छ । 


यसबारे पङ्तिकारलाई पनि लागेको छ– त्यहाँ इतिहासको जगेर्ना र भविष्यको निर्माण सँगसँगै भइरहेको छ । त्यहाँका जनता र राजनीतिक दलले अधिकारपछि दायित्व र जिम्मेवारी पनि बहन गर्नुपर्छ भन्ने सन्देश दिएका छन् । 


राजधानी सहर हैदराबादले १० वर्षसम्म (सन् २०२४ सम्म) आन्ध्र प्रदेशसँग साझा राजधानी बाँड्यो । यसले त्यहाँको सहिष्णुता र समन्वयको व्यावहारिक सन्देश सम्प्रेषण गरेको छ । यही समन्वयकारी भूमिकाले उक्त  क्षेत्रलाई देशकै बलियो आर्थिक मेरुदण्डका रूपमा स्थापित गरेको छ । जसले भारतको दक्षिण मध्यभागबाट सूचना प्रविधि, अनुसन्धान, शिक्षा, स्वास्थ्य र स्टार्टअप क्षेत्रमा महत्वपूर्ण सन्देश प्रवाह गरिरहेको छ । गुगल, माइक्रोसफ्ट, फेसबुक र अमेजोनलगायत विश्वकै ठूला बहुर्राष्ट्रिय कम्पनीहरूले यही क्षेत्र रोजेका छन्, जसले हैदराबादलाई भारतको अग्रणी प्रविधि सहर बनाउन सघाएको छ ।


तालिमको समापन समारोहमा तेलङ्गना राज्य प्रमुख जिस्नुदेव वर्मा विकासमा गतिमात्रै होइन, यस सहरले उत्तर र दक्षिण भारतलाई सांस्कृतिक रूपमा पनि जोड्ने काम गरेको उदाहरण प्रस्तुत गर्दै हुनुहुन्थ्यो । उहाँ भन्दै हुनुहुन्थ्यो, “यहाँको सांस्कृतिक सहिष्णुता, भाषा र खानपानको विविधता भारतीय एकताको उदाहरण हो । तेलङ्गना आन्दोलनको ऐतिहासिक भूमि भए पनि यसले सहिष्णुता, समावेशी विकास, स्थायित्व र दूरदर्शिता देखाएको छ । विविध भाषा, धर्म, संस्कृति र पहिचानका हिसाबले यो क्षेत्र ‘मिनी भारत’ हो, तर यहाँ सबै स्वतन्त्र, सबै खुसी र सबै सहिष्णु छन् ।” 


पङ्तिकारसँगको कुराकानीमा त्यहाँको ‘सेन्टर फर हुमन सेकुरिटी स्टडिज’का संस्थापक डा रमेश कन्नेगान्टी ‘हैदराबाद केवल तेलङ्गनाको राजधानी मात्र होइन, भारतको आत्मविश्वास, सम्भावना र समावेशी सोचको प्रतीक हो’ भन्दै हुनुहुन्थ्यो । 


तालिमकै महत्त्वपूर्ण पाटो रहेको अध्ययन भ्रमणका क्रममा त्यहाँका गोलकान्डा, चारमिनार, मक्का मस्जिद, सलारगञ्ज म्युजियम, वाराङ्गल, हुसेन सागर र लुम्बिनी पार्क, पचम्पल्लीलगायत सांस्कृतिक क्षेत्र र टि–हब, बिर्ला प्लानेटोरियम तथा विज्ञान सङ्ग्रहालय, तेलङ्गना एकीकृत प्रहरी कमाण्ड एण्ड कन्ट्रोल सेन्टर, ट्राइबल वेलफेयर म्युजियम, इण्डियन विजनेस स्कुल हेर्दा लाग्यो–हैदराबाद, एउटा सहरमा दुईवटा समय छन् । एउटा समय, जहाँ गोलकान्डा, चारमिनार र ऐतिहासिक सभ्यताका प्रतीकहरूले त्यहाँको इतिहास बोलिरहेका छन् । अर्को समय, जहाँ स्टार्टअप, साइबर सिटी र साइबर हबलगायत सूचना प्रविधिले विश्वग्राममा नयाँ भविष्य बोकिरहेका छन् ।


यो सहर सूचना प्रविधिका हिसाबले भारतको दोस्रो ठूलो आइटी निर्यातकर्ता सहर हो । ‘दी टाइम्स अफ इन्डिया’को अनलाइन संस्करणमा सन् २०२४ जुन १२ मा प्रकाशित एक समाचारअनुसार हैदराबाद एसियाका शीर्ष २० स्टार्टअप हबमध्ये एक हो । सन् २०१४ मा यहाँ करिब २०० स्टार्टअप रहेकामा सन् २०२४ मा यो सङ्ख्या सात हजार ५०० भन्दाबढी पुगिसकेको छ । यसले स्टार्टअप विकास, लगानी आकर्षण, प्रतिभा सञ्चय, बजार पहुँच र ज्ञानका क्षेत्रमा सन्तुलित र तीव्र वृद्धि देखाएको छ । 


सोही अनलाइनमा ८ जुन २०२५ मा प्रकाशित सामग्रीअनुसार यहाँ भारत सरकारअन्तर्गतको निकाय एसटिपीआइमा दर्ता भएका आइटी कम्पनीले सन् २०२४–२५ मा एक खर्ब ४२ अर्ब भारतीय रूपैयाँ बराबरको सफ्टवेयर बिक्री गरेका छन् । 


यहाँका प्रमुख हाइटेक सिटी र जिनोमी भ्यालीजस्ता प्रमुख प्रविधि केन्द्रमा मात्रै पाँच लाखभन्दा बढीले काम गरिरहेका छन् । यो सहरलाई विश्वका शीर्ष १० आउटसोर्सिङ गन्तव्यहरूमध्ये एक मानिन्छ । भारतीय समाचार समिति पिटिआइले लेखेअनुसार विश्वका दश गन्तव्यमा हैदराबाद धेरैअघि दोस्रोमा रहेको छ । 


दी न्यू इण्डियन एक्सप्रेस (१८ फेब्रुअरी २०२५) मा छापिएको एउटा समाचारअनुसार गएको १० वर्षमा यस राज्यको कूल गार्हस्थ उत्पादन (जिडिपी) मा १९६ दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । जबकी समग्र भारतको जिडिपी १३६ दशमलव ८९ प्रतिशतले वृद्धि भएको छ । तेलङ्गनाको अर्थतन्त्र सन् २०२३–२४ मा करिब १८० अर्ब अमेरिकी डलर छ, जुन पछिल्लो पाँच वर्षमा वार्षिक औसत ११ दशमलव चार प्रतिशतको वृद्धिदर हो । यसमा हैदराबादले मात्रै करिब ५० प्रतिशत योगदान गर्ने गरेको कतिपयले भन्ने गरेका छन् । 


एमसीआर मानवस्रोत विकास संस्था, तेलङ्गानाका कानुन तथा सार्वजनिक प्रशासन केन्द्र प्रमुख डा माधवी राभुलापति विगतको सभ्यताको जगमा वर्तमान हैदराबाद निर्माणमा यहाँका विविध धर्मावलम्बी, आमनागरिक, राजनीतिकर्मीलगायत सबैको इमानदार योगदान रहेको बताउनुहुन्छ । “भारत सङ्घीय गणराज्य भएको देश हो । विविध भाषाभाषी, संस्कार, संस्कृति, भौगोलिक विविधता भए पनि देशप्रतिको साझा समर्पणका कारण ‘ग्रेट इण्डिया’ बन्न सफल भइरहेको छ । यस्तै विविधता हैदराबादमा पनि छ, तर विविधतामा एकता, नवनिर्माणको हुँटहुटी, नवीन सोचका कारण भारतभित्र हैदराबाद आफ्नो छुट्टै पहिचान बनाइरहेको छ”, उहाँले भन्नुभयो । 


भोगेको नेपाल 


नेपाल पनि लामो सङ्घर्षपश्चात् सङ्घीय प्रणालीमा गएको हो । ऐतिहासिक संविधानसभाबाट संविधान बनेको १० वर्ष र त्यही आधारमा सङ्घीय व्यवस्था कार्यान्वयनको आठ वर्ष भएको छ, तर देशले अझै स्थायित्व र विकासको स्पष्ट ‘लय’ समात्न नसकेको आमगुनासो छ । तालिममा सहभागी ‘जेनजी’ पुस्ताका प्रतिनिधि किरण पौडेललाई पनि यस्तै लागेको रहेछ । हत्केलाको मोबाइलबाट संसार हेरेपछि उहाँ भन्नुहुन्छ, “हाम्रो विकासको गति किन यति धिमा ?”


यो प्रश्न पौडेलको मात्रै होइन, आमनेपालीको हो । दुई हप्ता हैदराबादमा बसेर आफ्नो देश फर्किएपछि सायद उहाँले आंशिक भए पनि उत्तर भेटाउनुभएको छ । पौडेल सुनाउनुहुन्छ, “भारतको कान्छो प्रदेश हेर्दा हामी अझै विकासको मोडल र नीतिमै अस्पष्ट छौँ कि ! हाम्रो विकास मोडल आधुनिक सङ्घीय नेपाल सुहाउँदो छैन कि भन्ने लाग्यो । त्यसैले आधुनिकीकरणलाई समावेशी, दिगो विकासलाई सन्तुलित बनाउने विषय हैदराबादबाट सिक्न सकिन्छ ।”


हैदराबाद र नेपालका धेरै कुरा मिल्दाजुल्दा छन् । यहाँ सङ्घीयताका लागि सङ्घर्ष र ठूलो बलिदानी गर्नुपरेको छ । त्यहाँ पनि पाँच दशक लामो आन्दोलनपछि छुट्टै प्रदेश सम्भव भएको हो । हैदराबादमा विगतमा निश्चित वंशपरम्पराको शासन थियो, नेपाल जस्तै । 


त्यहाँ पनि छुट्टै प्रदेशको अभ्यास र अपनत्व महसुस भएको १० वर्ष मात्रै भयो, यहाँ पनि त्यसकै हाराहारी । फरक यत्ति हो, हैदराबादमा राजनीतिक स्थायित्व छ । त्यहाँ १० वर्षमा मात्र दुई मुख्यमन्त्री (कार्यकाल तीन) भए । नेपालमा भने पटकपटक सत्ता परिवर्तन भएका छन् । त्यसो हुँदा नीतिगत र योजनाले निरन्तरता पाउन सकेको छैन । त्यहाँ नयाँ प्रदेश खोज्नुको जवाफ कामबाट दिइएको छ, यहाँ नयाँ व्यवस्थाअनुसार व्यवहार प्रदर्शन हुन नसकेको आरोप छ । “हो, त्यहाँ प्रदेश नयाँ थियो र सोच पनि नयाँ । त्यसैले छोटो समयमै विकासको गति समाते । हामीकहाँ व्यवस्था नयाँ, तर सोच पुरानो । हामी गन्तव्य ठीक भएर पनि बाटोमै अल्मिलिरहेका छौँ”, पौडेलले भन्नुभयो ।  

सञ्चारकर्मी राज ढुङ्गाना भन्नुहुन्छ, “उनीहरूको लक्ष्य भूगोल मात्रै थिएन, विकासको लक्ष्य पछ्याउने र विशाल भारतमा आफ्नो छुट्टै पहिचान स्थापित गर्ने रहेछ । केन्द्र सरकारले प्रदेश सरकारको कदममा कदम मिलाएको छ, तर हामी कहाँ ? सङ्घीयता माग्ने प्रदेशले नै आफू छुट्टै हुनुको अर्थ प्रमाणित गर्ने प्रयाससमेत गरेका छैनन् । त्यसैले असन्तुष्टि, गुनासा र फरकफरक स्वार्थको द्वन्द्व देखिरहेका छन् ।”


उहाँको बुझाइमा हामीसँग बलियो अर्थतन्त्र नभए पनि भएकै स्रोत पनि कहाँ, कसरी र किन खर्चिने भन्ने स्पष्ट सोच छैन । “विकास त केवल फल हो, त्यसको जग त सोच हो नी ! हामीकहाँ सङ्घीयतालाई सत्ता बाँडफाँटको खेलजस्तो मात्रै बनाइयो”, ढुङ्गानाले अगाडि भन्नुभयो, “विकास भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ, तर सोचेअनुसार त्यसो भइरहेको छैन ।”


हैदराबाद देखेर आएका सञ्चारकर्मी सुरोजङ्ग पाण्डे पनि सही सोच र योजना भएमात्रै गन्तव्यमा पुगिने धारणा राख्नुहुन्छ । “छुट्टै प्रदेश माग्नुको कारण प्रमाणित गर्ने दबाबमा थियो हैदराबाद, त्यस्तै दबाब नेपालमा पनि छ । त्यहाँ एउटा प्रदेशको कुरा थियो, यहाँ देशकै । त्यहाँ अधिकार माग्ने र त्यो पाएपछि सफल उदाहरण पेस गर्नसक्ने, तर हामीले किन नसक्ने ?”, प्रश्न गर्दै उहाँ भन्नुहुन्छ, “हैदराबाद हेरेर धेरैका आँखा खुल्छन् । राजनीतिक स्थिरता, दूरदर्शी नेतृत्व, स्पष्ट लक्ष्य, साझा जिम्मेवारी मुख्य कुरा रहेछ ।”


सङ्घीयता कार्यान्वयनमा आएपछि नेपालमा पनि सरकारले देशका विभिन्न ठाउँमा १० वटा नमुना आधुनिक सहर बनाउने घोषणा गरेको छ ।  राजधानी काठमाडौँलगायत पुराना सहरले ट्राफिक व्यवस्थापन र खानेपानीको चुनौती सामना गरिरहेका छन् । पाण्डे यिनै क्षेत्रलाई हैदराबादजस्तै योजनाबद्ध विकास गर्न सक्नुपर्नेमा त्यसो हुननसकेको बताउनुहुन्छ ।   


सञ्चारकर्मी सविका श्रेष्ठ भन्नुहुन्छ, “नेपालमा विकास नभएको होइन, भइरहेकै छ । देशमा बस्ती विकास र सहरी योजना कार्यान्वयन भइरहेकै छन्, तर परिणाम त हामीले देखिरहेका छौँ । सडकबाटो, सार्वजनिक यातायात, विकास पूर्वाधार, खानेपानी व्यवस्थापन अझै समस्याका रूपमा छन् । त्यसका लागि हैदराबादको ‘स्मार्ट सिटी’ योजना, प्रविधि हब र सार्वजनिक यातायात प्रणालीबाट नेपालले धेरै सिक्न सक्छ”, उहाँ अगाडि भन्नुहुन्छ, “त्यहाँ सडक किनारको हरियाली, घरघरको बगैँचा र विद्युतीय शासनले सहरलाई व्यवस्थित र बस्नलायक बनाएको छ ।”


यसबारे त्यहाँको जिपी बिर्ला पुरातात्विक, खगोलशास्त्रीय तथा वैज्ञानिक अनुसन्धान संस्थाका निर्देशक डा के मृत्युञ्जय रेड्डीको भनाइ मननयोग्य छ । उहाँ आफ्नो संस्थाको भित्तामा भारत स्वतन्त्र भएलगत्तै नवनिर्माण सुरु हुँदै गर्दाका तस्बिर देखाउँदै भन्दै हुनुहुन्थ्यो, “एउटा मान्छेले आफ्नो साइकलको पछाडि नमुना परीक्षणका लागि बनाइएको सानो आकारको मिसाइल बोकिरहेको छ । अर्को तस्बिर एप्पल उपग्रह परीक्षणका लागि गोरुगाडामा राखेर परीक्षणस्थल लगिँदै गरेको छ । त्यसताका प्रसिद्ध न्युजविक पत्रिकाले यस कदमलाई ‘शताब्दीकै टक्कर’ भनेर महत्वका साथ प्रकाशित गरेको थियो । उसबेला भारतसँग धेरै पैसा थिएन, तर नवीन सोच थियो, जसले अन्तरिक्षमा सफल भू–उपग्रह प्रक्षेपण गर्ने बाटोमा डो¥यायो । भारत आज कहाँ छ, तपाईंहरू देखिरहनुभएको छ ।”


यिनै कुरा आज सङ्घीय नेपालले पनि खोजिरहेको छ । “सङ्घीयता सत्ता र शक्ति वितरणको उपाय मात्रै होइन, यो विकासको अवसर पनि हो । हामीले पनि यसलाई समयमै बुझ्न सक्नुपर्छ र व्यवहारमा उतार्न लाग्नुपर्छ”, सञ्चारकर्मी ममता थापाको भनाइ छ ।


हो, सङ्घीयता केवल शक्ति विकेन्द्रीकरण मात्रै नभई नागरिक हित प्रवर्द्धन, उपलब्ध स्रोत र साधनको समुचित परिचालनको आधार पनि हो । पौडेल, ढुङ्गाना, श्रेष्ठ र थापा मात्रै होइन, त्यहाँ गएका नेपालका २२ जना प्रतिनिधिको साझा चिन्ता थियो, “नेपालले कागजमा सङ्घीयता अनुशरण गरे पनि सरकार, पार्टीका संस्कार, आचरण र अभ्यास त्यस अनुकूल छैनन् । यस्तो अवस्था कायम रहँदासम्म व्यवस्था जतिसुकै उत्कृष्ट भए पनि त्यसको सफल कार्यान्वयन हुन सक्दैन ।”