गोरखा — असारको तातो गर्मी, जस्ताले छाएको साँघुरो एक कोठे टहरो, झ्याल छैन, एउटा मात्र ढोका छ। यही 'कालकोठरी'मा पसिना चुहाउँदै ओत लागिरहेकी छिन् २१ वर्षीया मनिका परियार र उनका एक महिनाका नवजात छोरा। आफ्नै नाममा माटोको धुलोसमेत नरहेको उनी, काकी पार्वती परियारको टहरोमा शरण लिएकी छन्।


गोरखाको सहिदलखन गाउँपालिका–१ बक्राङ समिडाँडाकी मनिका जेठ १० गते गोरखा अस्पतालमा आमाबनेकी हुन्। गर्भ रहँदै पतिबाट तिरस्कृत, परिवारबाट बहिष्कृत, माइतीको साथसमेत नपाएकी मनिकाका लागि छोरै एक मात्र सहारा बनेको छ।


तर जब उनलाई सोधियो, "छोराको नाम के राख्नु भयो त?" — उनी छाँगाबाट खसेझैँ भइन्। "न्वारानै गर्न पाइएन, नाम सोचिएको छैन," भन्दै आँखा रसाइन्।


प्रेम, धोका र अन्तरजातीय विडम्बना

२०७९ मंसिरमा उनले धादिङको गजुरीका २३ वर्षीय मिलन श्रेष्ठसँग प्रेमविवाह गरेकी थिइन्। दमाइ समुदायकी मनिका र नेवार समुदायका मिलनबीचको सम्बन्धले घरपरिवारको अस्वीकार झेलेको थियो। मिलनले सुरुमा विवाह गरेर भोजभतेरसम्म गरे — तर मनिकाले आफ्नै जात र हैसियतले सधैं डर मानिरहिन्। "उसले माया गर्छ भनेर म फँसेँ," मनिका भन्छिन्।


बिहेपछि दुवैजना चितवन गए। कोकाकोला फ्याक्ट्रीमा सँगै काम गर्न थाले। तर मिलनको परिवारले जातीय भिन्नता थाहा पाएपछि "तिमीहरू मरेको ठान्छौँ, नआउनू" भने। त्यसपछि उनीहरू परिवारबाट पूर्णरूपमा अलग भए।


दुवै बेरोजगार, बच्चाको आगमन

गत वर्ष चैतमा उनीहरू दुवै फ्याक्ट्रीबाट हटाइए। चितवनमा बेरोजगार भएपछि काठमाडौँ गएका दम्पतीले काम खोज्न थाले। गर्भ रहनासाथ मिलनको आग्रहमा मनिकाले बच्चा राख्ने निर्णय गरिन्।


गर्भवती हुँदा डेंगु लागेपछि गाउँ फर्किइन्। केही समयपछि मिलन पनि आए। पैसा कमाउने उद्देश्यले मनिकाले उनलाई झापा पठाइन् — यहींबाट उनको जीवनले नयाँ मोड लियो।


सम्पर्कविहीन पति, अर्को विवाहको शंका

झापा पुगेपछि मिलन सम्पर्कमा रहेनन्। गाउँका महिलाहरूले "तिम्रो बुढाले फेसबुकमा अर्की केटीको फोटो हालेको छ" भनिदिए। फागुन १६ गते उसले एकपटक आएर झगडा गर्‍यो र अन्तिमपटक घरबाट निस्कियो।


केही दिनपछि काकी पार्वतीलाई मिलनको भाइले फोन गरेर जानकारी दियो — मिलनले गाउँमा अर्को केटी घर भित्र्याइसकेको छ। मनिका भन्छिन्, "पेटमा उसको बच्चा, उ त्यहाँ अर्कैसँग।"


यो खबरले उनी पूर्णरूपमा भित्रैदेखि भत्किइन्। खैरेनी गइन्, चाँदीको सिक्री र औंठी बेचेर केही पैसा जुटाइन्, तर न न्याय न मिलन — दुबै गुमाइन्।


अस्पतालमा बच्चा, ICU मा ज्यान

सुत्केरी हुँदा उनलाई पैसाको अभाव थियो। बच्चा ६ घण्टासम्म अड्किएको थियो, जन्मिएपछि जन्डिस र थाइराइड भयो। भरतपुर अस्पतालमा तीन दिन ICU मा राखियो। सबै उपचार खर्च गाउँलेहरूको सहयोगमा चलेको हो।


नाम दिन मिलन आएनन्, नाम दिइन् — अञ्जन

"म अब उसँग केही अपेक्षा राख्दिन," उनी भन्छिन्, "अब आएर नाम दियो भने हुन्थ्यो, छोरो त उसको हो।" उनले छोराको नाम अञ्जन राखेकी छन् — अञ्जान सम्बन्धबाट जन्मिएको अञ्जन।


बिनाआमा हुर्केकी आमाको पीडा

मनिका सात वर्षकी हुँदा आमाको निधन भयो। बाबुले दोस्रो विवाह त गरेनन्, तर हेरचाह पनि खास गरेनन्। भाइ अहिले पोखरामा अलपत्र छ, आफूसँग पनि खास सम्बन्ध छैन।


"आमा हुन्थिन् भने सायदै म यस्तो अवस्थासम्म आइपुग्थेँ," भन्छिन्, "जिन्दगी हाँडीबाट उछिट्टिएको माछोझैँ भुङ्ग्रोमा परेको छ।"


अबको सपना — छोरालाई ठूलो बनाउने

मनिकाको आँखामा आशु, छातीमा पीडा, तर मनमा एक मात्र आशा बाँकी छ — छोरा। "ऊ बाउजस्तो नहोस्, असल मान्छे बनोस्," भन्दै उनले भने, "अब मेरो लक्ष्य ऊलाई राम्रो बनाउनु हो — जे जस्तो भए पनि।"