देवेन्द्र किशोर: नेपाल–भारत खुला सीमाको संवेदनशीलता पछिल्ला वर्षहरूमा झन् जटिल बन्दै गएको छ। विशेषतः पूर्वी सीमाक्षेत्र अन्तर्गत पर्ने भद्रपुर–गलगलिया नाका अहिले लागूऔषध ओसारपसार, अवैध मुद्रा कारोबार तथा अन्तरदेशीय आपराधिक सञ्जालको केन्द्रका रूपमा चिनिन थालेको छ। बुधबार भारतीय सीमा सुरक्षा बल (एसएसबी) भातगांव र निमुगुड़ी एसएसबिको संयुक्त टोलीले सञ्चालन गरेको छापामार कारबाहीमा एक़ कथित लागूऔषध कारोबारी पक्राउ पर्नु केवल सामान्य अपराध नियन्त्रणको घटना मात्र होइन, यसले नेपाल–भारत सीमाको सुरक्षा संवेदनशीलता र “चिकेन नेक” क्षेत्रको रणनीतिक चुनौतीलाई पुनः उजागर गरेको छ।
भद्रपुर नाकाबाट नेपालतर्फ ब्राउन सुगर सप्लाइ गर्दै आएको आरोपमा पक्राउ परेका ४८ वर्षीय मोहम्मद हनिफको साथबाट ठूलो परिमाणमा ब्राउन सुगर, नेपाली तथा भारतीय मुद्रा र विभिन्न देशका विदेशी नोट बरामद हुनु आफैंमा गम्भीर विषय हो। कतार, चीन, मलेसिया र साउदी अरबका मुद्रा फेला पर्नुले घटनालाई केवल स्थानीय तस्करीको दायरामा सीमित नराखी अन्तर्राष्ट्रिय आर्थिक तथा आपराधिक सञ्जालसँग जोडिएको आशंका जन्माएको छ।
पूर्वी नेपालसँग सीमा जोडिएको भारतीय भूभाग “चिकेन नेक” का नामले परिचित छ। यो भारतको उत्तरपूर्वी राज्यहरूलाई मूल भूभागसँग जोड्ने अत्यन्त साँघुरो भूभाग हो, जसलाई सामरिक दृष्टिले भारतको संवेदनशील जीवनरेखा मानिन्छ। यही क्षेत्र आसपास हुने अवैध गतिविधि भारतका लागि मात्र होइन, नेपालका लागि पनि सुरक्षा चुनौती बन्न सक्छ। लागूऔषध, हतियार, मानव तस्करी तथा नक्कली मुद्रा कारोबारजस्ता अपराधले यही क्षेत्रलाई प्रयोग गरिरहेका छन् भन्ने विभिन्न घटनाले देखाउँदै आएका छन्।
खुला सीमाको सहजताले दुवै देशका नागरिकबीच सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्ध मजबुत बनाएको छ। तर यही खुलापनलाई आपराधिक गिरोहले अवसरका रूपमा प्रयोग गरिरहेका छन्। भद्रपुर, काँकडभिट्टा, गलगलिया, पानीट्याङ्की, ठाकुरगंज, पाठमारी ,घेराबारी लगायतका सीमावर्ती क्षेत्रहरूमा लागूऔषध कारोबारको जालो फैलँदै जानु यसैको परिणाम हो। बेरोजगारी, गरिबी र सीमित राज्य निगरानीका कारण युवा पुस्ता समेत यस्ता सञ्जालमा तानिने जोखिम बढ्दो छ।
विशेष चिन्ताको विषय के हो भने, पछिल्ला समय भारतीय सीमामा विदेशी नागरिकको गिरफ्तारी, विदेशी मुद्रा बरामद तथा अन्तरदेशीय नेटवर्कको संकेत देखिन थालेका छन्। यसले अब लागूऔषध कारोबार केवल स्थानीय गिरोहको नियन्त्रणमा नरही संगठित अन्तर्राष्ट्रिय अपराध समूहसँग जोडिँदै गएको अनुमान गर्न सकिन्छ। यदि समयमै प्रभावकारी नियन्त्रण हुन सकेन भने पूर्वी सीमा क्षेत्र आपराधिक गतिविधिको ट्रान्जिट प्वाइन्ट बन्ने खतरा रहेको छ।
नेपाल र भारतबीच सुरक्षा सहकार्य भए पनि व्यवहारिक तहमा अझ प्रभावकारी समन्वय आवश्यक देखिन्छ। सीमाक्षेत्रमा संयुक्त गस्ती, प्रविधिमैत्री निगरानी, सूचना आदानप्रदान र वित्तीय कारोबारमाथिको निगरानीलाई थप सुदृढ गर्नुपर्ने आवश्यकता स्पष्ट भएको छ। साथै स्थानीय तह, समुदाय र युवालाई लक्षित सचेतनामूलक अभियान सञ्चालन गरेर लागूऔषध विरुद्ध सामाजिक प्रतिरोध निर्माण गर्नु पनि उत्तिकै आवश्यक छ।
लागूऔषध तस्करी केवल कानुनी अपराध मात्र होइन, यसले समाज, अर्थतन्त्र र राष्ट्रिय सुरक्षामाथि दीर्घकालीन असर पार्छ। सीमावर्ती क्षेत्रमा बढ्दो आपराधिक गतिविधिले राज्य संयन्त्रलाई चुनौती दिइरहेको वर्तमान अवस्थामा नेपाल र भारत दुवैले यसलाई साझा सुरक्षा समस्याका रूपमा हेर्नु अपरिहार्य भएको छ। गलगलियामा भएको पछिल्लो कारबाहीले अपराध नियन्त्रणमा सुरक्षा निकाय सक्रिय रहेको सन्देश दिएको भए पनि यसले सीमाक्षेत्रमा गहिरिँदै गएको संगठित अपराधको भयावह यथार्थलाई समेत सतहमा ल्याइदिएको छ।




































