काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली आगामी साउन महिनामा भारत र तुर्कमेनिस्तान तथा असारको दोस्रो साता स्पेन भ्रमणमा जाने तयारी सुरु गरिएको छ। प्रधानमन्त्रीका निकट स्रोतका अनुसार भारत भ्रमण साउनको दोस्रो हप्ता हुन सक्ने सम्भावना रहेको छ भने स्पेन भ्रमणको तयारी लगभग अन्तिम चरणमा पुगेको छ।


परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार स्पेन भ्रमणको मिति लगभग तय भइसकेको छ र त्यसअनुसार तयारी तीव्र पारिएको छ। प्रधानमन्त्री ओली असार १६ देखि १९ (जुन ३० देखि जुलाई ३) सम्म स्पेनको सेभिल सहरमा हुने चौथो संयुक्त राष्ट्रसंघीय विकासका लागि वित्तीय सहयोग सम्मेलनमा सहभागी हुनेछन्। यो सम्मेलनमा विश्वभरका नेताहरू, वित्तीय संस्था, निजी क्षेत्र, नागरिक समाज लगायतका सरोकारवाला सहभागिता जनाउने छन्।


प्रधानमन्त्रीको स्पेन भ्रमणका क्रममा केही द्विपक्षीय भेटवार्ता र सम्झौता पनि हुन सक्ने तयारी छ, तर स्पेन सरकारले औपचारिक रूपमा द्विपक्षीय भ्रमणमा सहमति भने अझै जनाएको छैन।


त्यसपछि प्रधानमन्त्री ओलीको भारत भ्रमण हुने सम्भावना बढेको छ। भारत भ्रमणको तयारी प्रारम्भिक चरणमै भए पनि नयाँ दिल्लीबाट सकारात्मक संकेत प्राप्त भएपछि तयारी अघि बढाइएको हो। प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र नयाँ दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूले भारतीय समकक्षीसँग छलफल सुरु गरेका छन्।


प्रधानमन्त्री ओलीले यसअघि संयुक्त राष्ट्रसंघको महासभा (न्यूयोर्क) र बिमस्टेक सम्मेलन (बैंकक) मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरिसकेका छन्। हालसम्म भारतले भ्रमणमा चासो नदेखाउँदा ओलीको भारत यात्रा हुन सकेको थिएन, तर पछिल्लो समय दुई देशबीच समन्वय पुनः सक्रिय भएको देखिएको छ।


त्यस्तै, प्रधानमन्त्री ओलीले मध्य एशियाली मुलुक तुर्कमेनिस्तानको भ्रमण पनि गर्ने तयारी गरेका छन्। साउन २० देखि २३ (अगस्ट ५–८) सम्म तुर्कमेनिस्तानमा हुने भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा उनले सहभागिता जनाउने तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको छ।


संयुक्त राष्ट्रसंघको संयोजनमा हुने उक्त सम्मेलनमा सहभागितालाई नेपालले प्राथमिकताका साथ लिँदै आएको छ, किनकि नेपाल पनि भूपरिवेष्ठित र विकासोन्मुख राष्ट्र हो।


प्रधानमन्त्री ओलीको आगामी महिना अत्यन्त व्यस्त रहनेछ। स्पेनको बहुपक्षीय सम्मेलनपछि भारतको औपचारिक भ्रमण र त्यसपछि तुर्कमेनिस्तानको सम्मेलनमा सहभागिता हुने गरी तयारी तीव्र पारिएको छ। यस भ्रमण शृंखलाले नेपालको कूटनीतिक सक्रियतालाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।