काठमाण्डौ । आज गणतन्त्र दिवसको अवसरमा सत्तारुढ नेकपा (एमाले)ले उत्सव मनाउँदैछ भने राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत पूर्वराजाका समर्थकहरूले वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्ने भएका छन् । यी परस्पर विरोधी कार्यक्रमलाई लक्षित गरी काठमाडौँमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सत्तारुढ नेकपा (एमाले)ले आज ‘गणतन्त्र दिवस’ भृकुटीमण्डप क्षेत्रमा सांस्कृतिक झाँकीसहित उत्सवका रुपमा मनाउने बताएको छ । एमालेले बिहान ११ बजेदेखि झाँकीसहितको उत्सव कार्यक्रम गर्ने जनाएको छ । अर्कोतिर, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत पूर्वराजाका समर्थकहरूले वर्तमान व्यवस्थाविरुद्ध रत्नपार्क क्षेत्रमा बिहान ९ बजेदेखि जनआन्दोलन गर्ने घोषणा गरेका छन् ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आजका लागि सुरक्षा योजना बनाएर काम अघि बढेको बताए । उनले नेकपा (एमाले) को भृकुटीमण्डप, सुन्धारा, रत्नपार्क, टुँडिखेल क्षेत्रमा हुने सांस्कृतिक झाँकीबारे जानकारी प्राप्त भएको र सोहीअनुरूप सुरक्षा मिलाइएको बताए।
पूर्वराजा समर्थकको आन्दोलनबारे औपचारिक जानकारी नआएको उनको भनाइ छ । ‘हामी सुरक्षा योजना बनाएरै काम गरिरहेका छौँ,’ उनले भने, ‘नेपाल सरकारको औपचारिक कार्यक्रम पनि छ । विभिन्न राजनीतिक दलद्वारा आयोजना गरिने काठमाडौँ केन्द्रित कार्यक्रममा कुनै अप्रिय घटना हुन नदिन तथा कानुन उल्लङ्घन हुन नदिने गरी सुरक्षा व्यवस्था मिलाइएको उनको भनाइ छ ।
प्रहरीले सम्भावित झडपलाई रोक्न र शान्ति सुरक्षा कायम गर्न उच्च सतर्कता अपनाएको छ ।
राजावादीलाई चक्रपथ छिर्न नदिन ओलीको हठ
राजावादी संघ संस्था र पार्टीसहितले विहीबारदेखि गर्ने भनेको प्रदर्शन र आन्दोलनलाई चक्रपथ बाहिर नै सीमित राख्न प्रधानमन्त्री ओलीले हठ देखाएका छन्। सुरक्षा निकायका प्रमुखसँगको ब्रिफिङका क्रममा उनले त्यस्तो हठसहित निर्देशन दिएको उच्च स्रोतले जनाएको छ।
चारैवटा सुरक्षा निकायका प्रमुखसँग सुरक्षा व्रिफिङ लिने क्रममा प्रधानमन्त्रीले चक्रपथभीत्र प्रवेश नदिन र सोही अनुसार सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन्। स्रोतका अनुसार वैठकमा सुरक्षा निकायका प्रमुखहरुले यस बिषयमा सुरक्षा चुनौती हेरेर मात्रै निर्णय गर्न उचित हुन सुझाएका थिए।
राजतन्त्रवादीहरूले राजतन्त्र र हिन्दूराज्य लगायतका मागहरू राखेर भोलि जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन्। नेकपा एमालेले पनि सोही दिन गणतन्त्र उत्सव मनाउँदैछ। सो दिन काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशनसमेत दिएका छन्।
राजावादीको कार्यक्रम कहाँ गरिने भनेर अहिलेसम्म पनि टुङ्गो लागेको छैन। प्रधानमन्त्री ओली तानाशाही र निरङ्कुश अनि भिडन्त गराउने अभिप्रायमा लागेको राप्रपाले आरोप लगाइसकेको छ। सत्ता साझेदार नेपाली कांग्रेसका नेता तथा सांसदहरुले पनि प्रधानमन्त्री ओलीको उक्त व्यवाहारको जिम्मा लिन नसकिने जनाइसकेको छ।
प्रदर्शनलाई शान्तिपूर्ण बनाउन मानव अधिकार आयोगको अपिल
राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार हुने भनिएको जनप्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपिल गरेको छ । आयोगका अध्यक्ष तपबहादुर मगरले शान्ति सुरक्षालाई व्यवस्थित गर्न र शान्तिसुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्यमान्यतालाई आत्मसात् गर्न सुरक्षा अधिकारीहरूलाई निर्देशन गरेका छन् । आयोगले विभिन्न टोलीहरू बनाई प्रदर्शनको मानव अधिकारको कोणबाट अनुगमनसमेत गर्नेछ ।
उनले आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय अन्तरराष्ट्रिय कानुनमा उल्लिखित प्रावधानहरूको पालनामा संवेदनशील हुँदै एकअर्काप्रति अमर्यादित टीकाटिप्पणी नगर्न र आफ्ना प्रदर्शनलाई शान्तिपूर्ण बनाउन प्रदर्शनरत पक्षलाई अपिल गरे ।
एकै दिन दुई प्रदर्शन : एमालेको १० बजेदेखि, राजावादीको २ बजेपछि
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारको प्रदर्शन तथा कार्यक्रमका लागि सत्तारूढ एमाले र राजावादी समूहलाई छुट्टाछुट्टै समय उपलब्ध गराएको छ । पहिले एमालेलाई कार्यक्रम गर्न र त्यसपछि राजावादीको प्रदर्शन आयोजना गर्न प्रशासनले समय छुट्याएको हो ।
एमालेलाई भृकुटीमण्डपमा साढे १० बजेदेखि कार्यक्रम सुरु गरेर सवा २ बजेसम्म सक्न प्रशासनले अनुरोध गरेको छ । त्यसपछि शान्ति वाटिका क्षेत्रमा प्रदर्शनका लागि राजावादीलाई समय दिइएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जानकारी दिए ।
एमालेले बिहीबार गणतन्त्र दिवस मनाउने कार्यक्रम छ । राप्रपालगायत दल र राजावादी समूहले राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्रको मागसहित बिहीबारदेखि अनिश्चितकालीन प्रदर्शनको घोषणा गरेका छन् । राजावादीले गत चैत १५ मा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो । अर्कोतर्फ केही दिनअघि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार काठमाडौंलाई केही घण्टा नियन्त्रणमा राख्न पार्टीका कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । सोही कारण यस पटक सुरक्षा व्यवस्थामाथि चासो बढेको छ ।