काठमाण्डौ  ।  बम विस्फोट गरी व्यक्ति हत्याको आरोप लागेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमले सफाइ पाएका छन्। रौतहटको बहुचर्चित बम विष्फोट घटनामा दोषमुक्त भएका नेपाली कांग्रेसका पूर्वमन्त्री अफताब आलम आजै जेलमुक्त हुने भएका छन्। उच्च अदालत वीरगञ्जले बुधबार उक्त मुद्दामा आलमसहित सबै प्रतिवादीलाई सफाइ दिएको हो।

कारागारमा रहेका आलमलाई उच्च अदालतको आदेशअनुसार आजै रिहा गरिने तयारी भइरहेको छ। उच्च अदालत वीरगञ्जका न्यायाधीश डा। खुशीराम थारु र अर्जुन महर्जनको संयुक्त इजलासले आलम, उनका भाइ महताब आलम, र सहयोगीहरू शेष सेराज र बद्री सहनीलाई दोषमुक्त गरेको हो।

यसअघि रौतहट जिल्ला अदालतले १३ वैशाख २०८१ मा चारै जनामाथि जन्मकैदको फैसला सुनाएको थियो। तर उच्च अदालतले जिल्ला अदालतको उक्त फैसलालाई उल्ट्याउँदै सबैलाई सफाइ दिएको हो। २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा, चैत २७ गते रौतहटको राजपुरमा अफताब आलमको घरमा बम विस्फोट भएको थियो। प्रहरीले विस्फोटमा घाइते भएका व्यक्तिहरुलाई घटनाको प्रमाण लुकाउन ईँटाभट्टामा जिउँदै जलाएर मारेको आरोप लगाउँदै आलममाथि विभत्स अपराधको अभियोग लगाएको थियो।

प्रहरी अनुसन्धानका आधारमा आलममाथि मानव हत्या, ज्यान मार्ने उद्योग, विस्फोटक पदार्थको प्रयोग लगायतका गम्भीर अभियोगमा मुद्दा चलाइएको थियो। घटनामा आलममाथि मृतकको परिवार र स्थानीयले निरन्तर दबाब दिँदै आएका थिए। तर लामो समयको अदालती प्रक्रियापछि अन्ततः उनलाई पूर्ण सफाइ दिइएको हो।

बुधबार राति नख्खु कारागारबाट उनी रिहा भएसँगै नेपाली कांग्रेसका कार्यकर्ताले उनलाई स्वागत समेत गरेका छन् ।