सुनसरी  ।   इटहरी उपमहानगरपालिका स्थित खनारमा रहेको तिरुपति प्लाइउड फ्याक्ट्रीमा भीषण आगलागी भएको छ। बुधवार राति करिब २ बजेदेखि सुरु भएको आगो बिहान ७ बजे सम्म नियन्त्रणमा आउन सकेको छैन।

नियन्त्रणका लागि इटहरी, धरान, विराटनगर, बेलबारी, कानेपोखरीसहित आसपासका १० भन्दा बढी पालिकाबाट दमकल परिचालन गरिएको छ। दमकल टोली र सुरक्षा निकायहरू संयुक्त रूपमा आगो नियन्त्रणको प्रयासमा खटिएका छन्।

विराटनगरका उद्योगी वसन्त राठीद्वारा सञ्चालित उक्त प्लाइउड फ्याक्ट्री करिब ३ बिघा क्षेत्रफलमा फैलिएको छ। राठीका अनुसार फ्याक्ट्री मङ्गलवार बन्द थियो र आगलागीको कारण अहिले सम्म स्पष्ट हुन सकेको छैन।

फ्याक्ट्रीभित्र प्लाइउड उत्पादनमा प्रयोग हुने काठ, क्यामिकल र अन्य ज्वलनशील सामग्री भएकाले आगो तीव्र गतिमा फैलिएको अनुमान गरिएको छ।