काठमाडौं— प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। बैठक सूचना टाँस गरेर बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको सभामुखको सचिवालयले जनाएको छ।
मंगलबार बिहान बसेको बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरू माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादीसहितका दलले संसद् अवरोध गरेका थिए। भिजिट भिसा’ प्रकरणमा संलग्न रहेको आरोप लागेका मन्त्री लेखकले सम्बोधन गर्ने कार्यसूची रहे पनि प्रतिपक्षी अवरोधका कारण उनले सम्बोधन गर्न पाएनन्।
सभामा माओवादी सांसद वर्षमान पुन र रास्वपाका सांसद शिशिर खनालले लेखकले राजीनामा दिनुपर्ने बताएका थिए। खनालले लेखकले राजीनामा नदिएसम्म बैठक नचल्ने बताएपछि केही बैठक अवरुद्ध भएको थियो।
सभामुखले विपक्षी सांसदलाई बैठक अवरुद्ध नगर्न पटकपटक गरेको आग्रह पनि उनीहरूले नटेरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो। बैठक स्थगित भएपछि सभामुख घिमिरेले विभिन्न दलका सचेतकहरूसँग छलफल गरेका थिए।
छलफलमा विपक्षी सांसदहरूले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म बैठक चल्न नसक्ने अडान राखेका थिए। त्यसपछि सभामुखको निर्देशनमा बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो।
भिजिट भिसामा विदेश जानेहरूसँग ‘सेटिङ’ मिलाएर रकम लिने कार्यमा सचिवालय संलग्न रहेको आरोप लागेपछि लेखक विवादमा तनिएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अनुसन्धानका लागि बोलाएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराईलाई गृह मन्त्रालयमा सरुवा भएको भोलिपल्टै अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।
अख्तियारले जेठ ७ गते अपराह्न गृह मन्त्रालयबाटै सहसचिव भट्टराईलाई नियन्त्रणमा सोधपुछ गरेर साँझ छोडेको थियो। गृहमन्त्री बनेपछि लेखकले नै भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालका प्रमुख बनाएर पठाएका थिए। त्यहाँबाट सरुवा भएर गृह फर्किएको भोलिपल्टै उनी अख्तियारको अनुसन्धानमा तानिएका थिए।
भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराई अख्तियारको ‘रडार’ मा परेको सुइँको पाएपछि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट गृहमा सरुवा गरिएको आशंकाले पनि गृहमन्त्री लेखकलाई विवादमा ल्याइदिएको थियो। उक्त प्रकरणमा भट्टराई एक्लैको नभएर गृहमन्त्रीको समेत ‘मिलेमतो’ भएको भन्दै विपक्षी दलहरू विरोधमा उत्रिएका हुन्।