काठमाण्डौ । प्रतिनिधि सभा बैठक अवरुद्ध भएको छ । प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गरेका हुन् ।
मानव तस्करीजस्तो गम्भीर आरोप लागेका गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उनीमाथि अनुसन्धान हुनुपर्ने प्रतिपक्षको माग छ ।
आजको प्रतिनिधि सभाको बैठक शुरु हुना साथ माओवादी केन्द्रका नेता बर्षामान पुनले बोल्दै गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको नियमित गतिबिधि संचालन हुन नदिने बताएका हुन् । पुनले गृहमन्त्रीको भिजिट भिसा प्रकरणमा सिधै संलग्नता छ भनेर आफुहरुले नभन्ने तर छानबिन प्रभावित हुन सक्ने हुनाले राजीनाम दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका थिए ।
यस्तै रास्वपाका सांसद शिशिर खनालले पनि गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नसक्ने बताए । संसद् बैठकमा रास्वपा सांसद शिशिर खनालले विगतमा अहिलेका गृहमन्त्रीले नै प्रतिवादन गरेको नैतिकताको मापदण्ड अहिले पनि लागु हुनुपर्ने बताए।
यदि कुनै मन्त्रीमाथि प्रश्न उठ्यो राज्यकै कुनै निकायले अनुसन्धान गर्नुपर्यो भने त्यस्ता माननीय मन्त्री पदमा रहनुहुन्न । त्यसकारण उहाँले राजीनामा दिनुपर्छ । यी शब्द मेरा होइनन् । यही सदनमा प्रतिपक्षी दलको नेताको हैसियतले वर्तमान गृहमन्त्री गृहमन्त्रीले व्यक्त गर्नुभएको नैतिकताको मापदण्ड हो। आज यहाँ उहाँले कोर्नुभएको नैतिकताको लक्ष्मणरेखा नैतिकताको धरातल गम्भीर प्रश्न खडा भएको छ। त्यतिबेला प्रतिपादन गरेको सिद्धान्त आज उहाँलाई लागू हुँदैन ? समाचारहरुमा आएको तथ्यांक मान्ने हो भने पछिल्लो ८ महिनमा मात्रै ४ अर्ब लुट भएको छ। यो ठूलो खेल राजनीतिक संरक्षण विना सम्भव छैन।
यसमा एक व्यक्ति मात्र होइन। गृहमन्त्री ज्यूका सचिवालयमा सबै कर्मचारी पनि जोडिएका देखिन्छ । सबैमा अनुसन्धान हुनुपर्छ ।