नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-७ अम्रसा जंगलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

सोही दुर्घटनामा परी १ जना गम्भीर घाइते भएका छन् । मङलबार बिहान अम्रसा गाउँबाट चोरमारातर्फ आउँदै गरेको ३ जना सवार लु९प ८११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार दुर्घटनामा परी मध्यविन्दु-७ चोरमाराका २४ वर्षीय नवीन कुमाल र सोही स्थानका २२ वर्षीय रादिम मिधुनको मृत्यु भएको छ । दुर्घटनामा बर्दघाट नगरपालिका-५ मध्यविन्दु-७ का २८ वर्षीय मनिष घर्ती मगर गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा सख्त घाइते अवस्थामा तीनै जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकामा दुई जनालाई चिकित्सकले मृत घोषित गरेका थिए । गम्भीर घाइते १ जनालाई थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन लगिएको छ । टायल मार्बलसम्बन्धी मिस्त्री काम गर्ने तीनै जना कामका लागि जाँदै गर्दा दुर्घटनामा परेको प्रहरी जनाएको छ ।