सर्लाही  ।   विवादित धर्मगुरु रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई जेठ १२ गते सम्पत्ति शुद्धीकरण मुद्दामा  जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

‘लिटिल बुद्ध’ का नामले समेत चर्चित बम्जनलाई न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले थुनामा राख्ने आदेश गरेपछि मलङ्गवा कारागार चलान गरिएको हो । 

सम्पति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) कसुरमा बम्जनमाथि २०८१ फागुन ५ गतेका दिन सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । मुद्दा सुनवाइका क्रममा बम्जन जिल्ला अदालत आउँदा ठूलो सङ्ख्यामा उनका समर्थक तथा अनुयायीहरु अदालत अगाडि जम्मा भएका थिए । यसअघि पनि सर्लाही जिल्ला अदालतले बम्जनलाई एक नाबालिका अनुयायी ‘आनी’ माथि यौन दुराचार गरेको आरोपमा सजाय सुनाएको थियो । बम्जनलाई जिल्ला अदालतले २०८१ असारमा १० वर्ष कैद र रु पाँच लाख क्षतिपूर्तिको सजाय सुनाएको थियो । 

त्यसविरूद्ध उनले उच्च अदालत जनकपुरमा पुनरावेदन निवेदन दिएका थिए । उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला उल्ट्याउँदै बम्जनलाई गत चैत ६ गते सफाइ दिएको थियो । उच्च अदालत जनकपुरबाट सफाइ पाएसँगै बम्जन जेलमुक्त भएका थिए । तर, फेरि सम्पत्ति शुद्धीकरण मुद्दामा उनी  जेठ १२ गते जेल चलान भएका हुन् ।