दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-३ र ४ जोड्ने मादी नदी पुलबाट जिप खस्दा ३ जनाको मृत्यु भएको छ।
दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरको जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको थियो। दुर्घटनामा अन्य २ जना घाइते भएका छन्।
घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए। जिपमा ५ जना सवार थिए।
मृत्यु हुनेमा व्यास-५ का ३५ वर्षीय प्रविन थापामगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेका प्रहरीले जनाएको छ।
घाइतेमध्ये १ जना गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाउने तयारी गरिएको छ भने चालक सामान्य रहेका छन्। दुर्घटनाका घाइतेलाई नेपाली सेनाको कालीभञ्जन गण (इ), नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए।