काठमाण्डौ । चर्चित व्यवसायी दुर्गा प्रसाईँ तीनकुने प्रकरणमा अझै प्रहरी निगरानीमै रहने भएका छन्। तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित ५३ जनालाई अनुसन्धानको लागि थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

चैत १५ गतेको घटनासँग सम्बन्धित अनुसन्धानलाई टुंगोमा पुर्‍याउन काठमाडौँ जिल्ला अदालतले उनीसहित पक्राउ परेका अन्य व्यक्तिलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो। बिहीबार अदालतले प्रहरीलाई दिएको आदेशपछि अब काठमाडौँ प्रहरी परिसरले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने अन्तिम तयारी गरिरहेको जनाएको छ।

घटनामा संलग्नताका आधारमा कानुनी कारबाहीको दायरा फराकिलो हुने आकलन गरिँदै आएको छ। प्रसाईँका गतिविधि पछिल्लो समय राजनीतिक र सामाजिक क्षेत्रमै बहसको केन्द्र बनेका छन्, र यही पृष्ठभूमिमा तीनकुने घटनाले थप विवाद जन्माएको हो।

अब दुई दिनभित्र अनुसन्धान प्रतिवेदन पेश भएपछि मुद्दाले कुन दिशा लिन्छ भन्नेमा आम चासो केन्द्रित हुँदैछ।