काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।
आज अपराह्न अख्तियारको टोली त्यहाँ पुगेको हो । विमानस्थल सुरक्षा स्रोतका अनुसार अख्तियारको अनुसन्धान अधिकारीको टोली अहिले विमानस्थलको अध्यागमन कार्यालयमै छ । अख्तियार स्रोतका अनुसार त्यहाँबाट कागजपत्र र केही कर्मचारीलाई नियन्त्रणमा समेत लिइएको छ ।
अध्यागमनको अनियमितता तथा सेटिङको सूचना र उजुरीको आधारमा अख्तियारको टोलीले छापा मारेको हो । अध्यागमन प्रमुखलाई हटाएर आजै मात्रै गृहमन्त्री रमेश लेखकले कर्मचारीको हेरफेर गरेका थिए ।
अख्तियारको टोलीले मंगलबार मात्रै विमानस्थल अध्यागमनबाट फिर्ता भएका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ । त्यसैगरी अख्तियारले अन्य ८ जना कर्मचारीलाई पनि हिरासतमा लिएको स्रोतले उल्लेख गरेको छ ।
अख्तियार स्रोतका अनुसार भट्टराई विमानस्थल अध्यागमन प्रमुख हुँदा भिजिट भिसामा जानेहरूबाट अनधिकृत रूपमा करोडौँ रुपैयाँ उठाएको सूचना आएको थियो । उक्त सूचनापछि अख्तियारले विमानस्थल अध्यागमन कार्यालयमा छापा हानेर कागजपत्र र कम्प्युटर जफत गरिसकेको छ ।