काठमाण्डौ । संघीय संसद अन्तर्गत विभिन्न ५ वटा समितिको बैठक बस्दैछ ।

संसद सचिवालयका अनुसार आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति बैठक बस्न लागेको हो ।

समितिका सबै बैठक सिंहदरबारमा बस्नेछन् । बिहान ७:३० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा २ वटा उपसमितिहरूले तयार पारेका प्रतिवेदनहरू समिति समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

पूर्वाधार विकास समितिको बैठक बिहान ८:३० बजे बस्नेछ । बैठकमा विद्युत विधेयक २०८० माथि संशोधनसहित दफावार छलफल हुनेछ ।

अर्थसमितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक), २०८० सम्बन्धमा विषय विज्ञ र सरोकारवालासँग छलफल गर्ने तयारी छ । बैठक बिहान ११ बजे बस्नेछ ।सार्वजनिक लेखा समितिको बैठकमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन उपर छलफल हुनेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल हुने सचिवालयले जनाएको छ ।