सर्लाही  ।  सर्लाहीको लालबन्दी नगरपालिका १४ पत्थर कोटबाट ११७ किलो गाँजासहित भारतीय गाडी र एकजना पक्राउ परेको छ।

प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीको नेतृत्वमा खटिएको टोलीले प्राप्त गोप्य सूचनाका आधारमा सर्लाहीको लालबन्दी नगरपालिका–१४ स्थित डाइनेखोलामा भारतीय नम्बर प्लेटको सेतो स्कर्पियो गाडी (BR 32 AN 0817) र लु ३३ प ३८९४ नम्बरको पल्सर मोटरसाइकल चेकजाँच गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार पत्थरकोटतर्फ गाँजाको ओसारपसार हुँदै थियो । प्रहरी त्यहाँ पुगेको थाहा पाएपछि सवारीसाधन छोडी भाग्ने क्रममा लालबन्दी–१४ का ४२ वर्षीय सोम बहादुर तामाङलाई पक्राउ गरिएको हो ।

प्रारम्भिक सोधपुछमा तामाङले भारतीय गाडीमा गाँजा रहेको खुलाएपछि प्रहरीले गाडी खानतलासी गर्दा पछाडिको डिक्कीमा रातो प्लास्टिकमा प्याक गरिएको २१ पोका गाँजा फेला परेको हो । स्थानीय जनप्रतिनिधिको रोहवरमा प्रमाणिक तराजुमा तौल गर्दा ती पोका कुल ११२.७८ किलोग्राम गाँजा रहेको पुष्टि भएको सर्लाही प्रहरीले जनाएको छ ।

बरामद लागूऔषध, सवारीसाधन तथा पक्राउ परेका तामाङलाई लागुऔषध नियन्त्रणसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धानका लागि जिल्ला अदालत सर्लाहीबाट ९ दिनको म्याद थप गरिएको छ । उनलाई इलाका प्रहरी कार्यालय, लालबन्दीमा राखेर अनुसन्धान थालिएको छ ।