काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एंव प्रथम महिला राधिका शाक्यले आफूलाई राजनीतिमा आउनको लागि कुनै चासो नभएको बताएकी छन् । 

सोमबार आयोजित आफूले लेखेको पुस्तक ‘करुणा’ बारे अन्तरक्रिया कार्यक्रममा उनले पाको उमेरमा राजनीतिमा आएर के पाउने हो र भन्दै प्रश्न गरिन् । उनले राजनीतिमा लागेको भए आजसम्म प्राप्त भएका उपलब्धिहरु पनि गुम्ने संकेत गरिन् । 

उनले भनिन्, ‘तपाइँ राजनीतिमा पो सलबलाउन थाल्नु भएको हो की भन्ने पत्रकारहरुका प्रश्न आएका छन् । यसमा सबैजना ढुक्क हुनु भए हुन्छ, म राजनीतिमा आउने मान्छे होइन् । मैंले आफ्नो उर्जाशील जवानीमा त राजनीति गरिन । अब निभ्न लागेको बत्ती भनेको जस्तै आजको यो उमेरमा किन राजनीतिमा आउछु र । के पाउछु र ? अहिले चुप लागेर बसेको छु र नै धेरै कुरा प्राप्त गरेको छु । जहाँसम्म लाग्छ राजनीतिमा लागेको भए यति कुरा पनि पाउदिन थिए होला ।’

यस्तै, उनले केपी ओलीले श्रीमतीलाई अगाडि सार्न लाग्यो कि क्या हो भन्ने कता–कता प्रश्न गरेको सुनेको पनि बताइन् । ‘मलाई केपी ओलीले राजनीतिमा आउ वा सक्रिय बन्नु कहिले भन्नुभएको छैन् । आफू राजनीति गर्न भनेर आएको पनि होइन्,’ उनले भनिन् । 

उनले भनिन्, ‘मलाई धेरै मान्छेहरुले अब केपी ओलीले श्रीमतीलाई अगाडि सार्न लाग्यो कि क्या हो भनेर प्रश्न गरेको सुनेकी छु । तर केपी ओलीले मलाई राजनीतिमा जाऊ भनेर भन्नुभएको छैन् । म आफैंले पनि राजनीति गर्छु भनेर भनेको पनि छैन् । म एउटा सामान्य नेपाली हुँ, यो नेपालको इमान्दार छोरी हुँ र मैले जति कुरा बुझेकी छु, मेरो मन मस्तिष्कले जति कुरा बुझेको छ । कुन ठिक, कुन बेठिक भन्ने कुरा बुझेकी छु । ति सबै कुरा किताबमार्फत व्यक्त गरेकी छु् ।’