काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि सर्वोच्च अदालतमा हेर्न नमिल्नेमा परेको छ ।

यसअघि पाँच पटक लगातार हेर्न नमिल्नेमा परेपछि आज हेर्न मिल्ने प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीस नित्यानन्द पाण्डेको संयुक्त इजलासमा तोकिएको थियो । तर अदालत स्रोतका अनुसार रवि लामिछानेको पक्षबाट बहस गर्ने वकिल नातेदार परेपछि न्यायाधीशले सुनवाइ नगर्ने निर्णय लिएका हुन् । आजसहित लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट लगातार छैठौँ पटक हेर्न नमिल्नेमा परेको हो ।

आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले हेर्न मिल्ने इजलासमा पेसी तोक्न सर्वोच्च प्रशासनका नाममा आदेश गरेको थियो । सोही अनुसार हेर्न नमिल्ने न्यायाधीशहरुकोमा नपर्ने गरी आज प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको थियो । तर पनि मुद्दा हेर्न नमिल्नेमा गएको हो । 

प्रधानन्यायाधीश राउतको नजिकको आफन्त पर्ने वकिल लामिछानेको तर्फबाट र न्यायाधीश पाण्डेयका नजिकका आफन्त पर्ने वकिलको नाम पूर्वडीआईजी छविलाल जोशीको तर्फबाट यस मुद्दाको वकालतनामामा रहेकाले मुद्दा हेर्न नमिल्ने भएको हो । लामिछानेकोतर्फबाट एक महिनाअघि रिट दायर भएको थियो।