सुनसरी— संगठन प्रमुख प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी स्कुल धरानको निरीक्षण तथा आसरा सुधार केन्द्र पानवारीको अवलोकन भ्रमण गरेका छन् । भ्रमणको क्रममा उनले कार्यालय भवन तथा कक्षा कोठाहरुको निरीक्षण गर्नुको साथै स्कुल परिसर भित्र बृक्षारोपण समेत गरे ।
निरीक्षण भ्रमण पश्चात बिद्यालयका प्रिन्सिपल र अन्य शिक्षक शिक्षिकाहरुसंग छलफल तथा अन्तरक्रिया गर्नुका साथै सौहार्दपुर्ण वातावरणमा अध्यापन गराउन र विधार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि अनुरोध गरे । यसैगरी उनले आसरा सुधार केन्द्र पानवारी धरानको अवलोकन भ्रमणको क्रममा केन्द्रको व्यवस्थापन लगायत सम्पुर्ण गतिविधिहरु र सम्पादन हुँदै आई रहेको दैनिक कार्यहरुको बारेमा जानकारी लिएका छन ।
निरीक्षण भ्रमण कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन बिभागका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक कृष्णहरी शर्मा पोख्रेल, कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्की, नेपाल प्रहरी प्रदेश कार्यालय धरान सुनसरीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालय विरानटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राम कुमार चौधरी लगायत सिनियर प्रहरी अधिकृतहरु तथा सुधार केन्द्रका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।