काठमाडौं— मुलुकका विश्वविद्यालयहरूसँग रहेको करिब एक हजार ४७९ हेक्टर अर्थात् १ करोड ४७ लाख ८९ हजार वर्गमिटर जग्गाको ठूलो हिस्सा नियमविपरीत प्रयोग भएको पाइएको छ । 

महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदनअनुसार विश्वविद्यालयहरूको महत्त्वपूर्ण सम्पत्ति अतिक्रमण, अनियमित भोगाधिकार, प्रयोग नभएको अवस्था वा विवादग्रस्त रूपमा रहेको छ ।

प्रतिवेदनअनुसार त्रिभुवन विश्वविद्यालयसँग मात्र १ करोड ३१ लाख ३७ हजार वर्गमिटर क्षेत्रफल बराबरको जग्गा थातथलो, ९ लाख ९९ हजार भोगाधिकार र अन्य ६ लाख ५३ हजार वर्गमिटर जग्गा रहेको छ । 

तर, विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा रहेको ११३ रोपनी जग्गा एक निजी आवासीय विद्यालयलाई १५ वर्षका लागि दिइए पनि म्याद सकिएपछि पनि खाली नगरिएको देखिएको छ ।

यस्तै, बागमती किनारमा रहेको १५ रोपनी जग्गा एक संस्थाले अनधिकृत रूपमा भोगचलन गरिरहेको र थप १३ रोपनी अन्य संस्थाले निःशुल्क प्रयोग गरिरहेकोमा विश्वविद्यालयले कुनै आम्दानी उठाउन सकेको छैन ।

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको एक क्याम्पसको नाममा रहेको ३८० बिघा जग्गामध्ये ३०० बिघा अतिक्रमणमा परेको छ । यस्तै, नेपाल संस्कृत विश्वविद्यालयसँग तराईमा १ हजार ७१८ बिघा १८ कट्ठा र पहाडमा १०२ रोपनी ९ आना जग्गा भए पनि त्यसको ४०८ बिघा मोहीको नाममा कायम छ भने १२ बिघा थातथलो विवादमा रहेको देखिएको छ ।

दाङको देउखुरी र बेलझुण्डी क्षेत्रमा नेपाल संस्कृत विश्वविद्यालयको १ हजार ६६२ बिघा जग्गामध्ये करिब १ हजार ३५७ बिघा वि.सं. २०५८ देखि नै अतिक्रमणमा परेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।