विराटनगर — मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ । गए राति रतुवामाई नगरपालिका–३, स्थित मिर्चा डाँगी टोलमा भएको एउटा विवाह समारोहमा सहभागी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सूर्यदेवी गनगाईंको मृत्यु भएको हो ।

प्रहरीका अनुसार, स्थानीय मंगललाल सिंहका छोरा निरजकुमार विवाहमा नाचगान गरिरहेका बेला उनीहरूलाई करेन्ट लागेको थियो । राति आएको हावाहुरीले माइक टांगेको बाँस ढलेको थियो । बाँस हाइटेन्सन लाइनमा ठोक्किएर तार लत्रिँदा तीन महिलालाई करेन्ट लागेको थियो ।

तीन जनामध्ये राधाकुमारी सिंहको अवस्था सामान्य रहेको जिल्ला मोरङ प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । उपचारपछि उनी घर फर्किसकेकी छन् ।