काठमाडौं— नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले पौडेलविरुद्ध रिट दायर गरेका हुन् ।

उप्रेती र थापाले नै राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टको योग्यतामा प्रश्न उठाएर पूरक निवेदन दर्ता गरेका थिए ।

सर्वोच्च प्रशासनका अनुसार पौडेलविरुद्धको रिट सर्वोच्चमा पेस भए पनि दर्ता भएको छैन । रिटमा राजनीतिक दलबाट सिधै गभर्नर नियुक्ति गर्दा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल हुने दाबी गरिएको छ ।  

अधिवक्ता उप्रेती र थापाले ६५ वर्षे उमेरहद नलाग्ने गरी सरकारले गरेको गभर्नर नियुक्ति मापदण्ड संशोधनविरुद्ध पनि रिट दायर गरेका थिए । उनीहरूको रिटमा अन्तरिम आदेश भएर संशोधित मापदण्ड लागु गर्न भने तत्काललाई रोक लागेको छ । 

कायममुकायम गभर्नर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेको कारण देखाएर प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच गभर्नरमा भट्टको विकल्पमा पौडेललाई ल्याउने सहमति भएको थियो । सहमतिको समाचार सार्वजनिक भएसँगै पौडेलले गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिइसकेका छन् ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २१ (क) मा राजनीतिक दलको सदस्य गभर्नरमा नियुक्त हुन नसक्ने व्यवस्था छ । ऐनविपरीत गएर पौडेललाई नियुक्त गर्न लागिएकाले नियुक्ति रोक्नुपर्ने रिटकर्ताको माग छ ।